जीतपुरसिमरामा कक्षा ८ को नतिजाः चार जना ‘ए प्लस’ मा उतिर्ण, एउटा विद्यालयको नतिजा नै शुन्य


eShilalekh

२१ चैत्र २०७९, मंगलवार २०:५९

सिमराः जीतपुरसिमरा उपमहानगरपालिकाले आधारभूत तह कक्षा ८ को परिक्षाफल प्रकाशित गरेको छ । चैत ७ देखि १५ गतेसम्म संचालन गरिएको परिक्षाको नतिजा उपमहानगरपालिकाले सोमबार राती प्रकाशन गरेको हो ।

परिक्षामा सहभागी ३४ सामुदायिक र २८ संस्थागत (निजी) गरी ६२ विद्यालयमध्ये हालसम्म ५५ विद्यालयको परिक्षाफल आइइएमआइएसमा प्रकाशन भएको छ भने अन्य विद्यालयको नतिजा प्रकाशन हुने क्रम जारी छ ।

शिक्षा तथा खेलकुद महाशाखाले प्रकाशन गरेको नतिजाअनुसार नगर क्षेत्र भित्र रहेका अधिकांश विद्यालयको नतिजा निराशाजनक देखिएको छ । हालसम्म प्राप्त ५५ विद्यालयको नतिजाअनुसार चार जना विद्यार्थी मात्रै ३.६ देखि ४ जिपिए (ए प्लस) ल्याएर उतिर्ण भएका छन् भने एउटा विद्यालयको नतिजा शुन्य छ ।

प्राप्त नतिजा अनुसार सेन्ट जोन्स एकेडेमी बाराका दुई, सिमरा पब्लिक इङ्लिस स्कुल सिमराका एक र पाथिभरा इङ्लिस बोर्डिङ स्कुल सिमराका एक गरी चार विद्यार्थी ए प्लस श्रेणीमा उतिर्ण भएका छन् । सेन्ट जोन्सका छात्र रोहितकुमार पटेल ३.७८, पाथिभराका छात्र सन्देश घिमिरे ३.७८, सिमरा पब्लिककी छात्रा रिया खत्री ३.७० र सेन्ट जोन्सकै छात्र दया लाल ३.६३ जिपिएसहित उतिर्ण भएका हुन् ।

यता नेपाल राष्ट्रिय आधारभूत विद्यालय खैरवाको नतिजा शुन्य देखिन्छ । उक्त विद्यालयबाट १६ जना विद्यार्थी परिक्षामा सहभागी थिए । यसैगरी नगरभरीबाट ३.२ देखि ३.६ जिपिए (ए) ल्याएर उतिर्ण हुने विद्यार्थीको संख्या ८० मात्रै छ । यस्तै २.८ देखि ३.२ जिपिए (बि प्लस) ल्याएर दुई सय २८ विद्यार्थी उतिर्ण हुँदा २.४ देखि २.८ जिपिए (बि) ल्याएर उतिर्ण हुने संख्या चार सय २६ रहेको छ ।

परिक्षामा सबैभन्दा बढी चार सय ३८ विद्यार्थी सि प्लस अर्थात २.० देखि २.४ जिपिए ल्याएर उतिर्ण भएका छन् । यसैगरी १.६ देखि २.० जिपिए (सि) को नतिजा शुन्य देखिदा एक सय ३८ विद्यार्थी १.२ देखि १.६ जिपिए (डि) ल्याएर उतिर्ण भएका छन् । परिक्षाफल प्रकाशित भएको ५५ विद्यालयका तीन सय ७४ विद्यार्थी नन ग्रेडमा पर्दै उतिर्ण हुन असफल भएका छन् । उतिर्ण हुन असफल भएका विद्यार्थीले अब ग्रेड वृद्धिका लागि परिक्षा दिनुपर्नेछ ।

५५ विद्यालयमा उतिर्ण विधार्थी संख्याः
३.६ देखि ४.० जिपिए (ए प्लस) – विद्यार्थी संख्या ४
३.२ देखि ३.६ जिपिए (ए) – विद्यार्थी संख्या ८०
२.८ देखि ३.२ जिपिए (बि प्लस) – विद्यार्थी संख्या २२८
२.४ देखि २.८ जिपिए (बि) – विद्यार्थी संख्या ४२६
२.० देखि २.४ जिपिए (सि प्लस) – विद्यार्थी संख्या ४३८
१.६ देखि २.० जिपिए (सि) – विद्यार्थी संख्या ०
१.२ देखि १.६ जिपिए (डि) – विद्यार्थी संख्या १६३
०.८ देखि १.२ जिपिए (नन ग्रेड) – विद्यार्थी संख्या ३७४

निजी भन्दा सामुदायिक विद्यालयको नतिजा कमजोर

परिक्षाफल अनुसार निजी विद्यालयभन्दा सामुदायिक विद्यालयको नतिजा अन्तन्तै कमजोर देखिएको छ । प्राप्त ५५ विद्यालयको नतिजाअनुसार सामुदायिक विद्यालयका तीन सय ३६ विद्यार्थी कुनै पनि ग्रेडमा नपर्दा निजी विद्यालयका ३८ विद्यार्थी नन ग्रेडको सूचिमा छन् ।

नन ग्रेडमा परेकामध्ये पाँच वटा विषयसम्म अनुतिर्ण रहेका विद्यार्थीले ग्रेड वृद्धिको परिक्षामा सहभागी हुन् पाउनेछन् । यसैगरी परिक्षामा ए प्लस ल्याएर उतिर्ण हुनेमा सेन्ट जोन्स एकेडेमीका एक विद्यार्थी छन् भने ए श्रेणीमा उतिर्ण हुने ८० विद्यार्थीमध्ये ७८ जना निजी विद्यालयकै छन् ।

सामुदायिक विद्यालयका दुई विद्यार्थी मात्रै ए श्रेणीमा उतिर्ण देखिन्छन् । अन्य श्रेणीमा उतिर्ण हुने पनि निजी विद्यालयकै विद्यार्थी बढी देखिन्छन् । राज्यले शिक्षा क्षेत्रमा ठुलो लगानी गरेका बेला देखिएको यो नतिजाले सामुदायिक विद्यालयको शैक्षिक स्तर अत्यन्तै कमजोर देखिएको छ ।

उपमहानगरपालिकाको परिक्षाफल रिपोर्टमा देखियो त्रुटीः

जीतपुरसिमरा उपमहानगरपालिकाले उपलब्ध गराएको परिक्षाफल रिपोर्टमा त्रुटी देखिएको छ । आइइएमआइएसमार्फत उपलब्ध गराइएको ५५ विद्यालयको परिक्षाफलमा एक जना विद्यार्थीमात्रै ए प्लसमा उतिर्ण भएको उल्लेख छ ।

तर उक्त रिपोर्ट गलत पाइएको छ । उपमहानगरपालिकाको रिपोर्टलाई आधारमा इशिलालेखबाट समाचार प्रकाशन भएसंगै अन्य तीन विद्यार्थी ए प्लसमा उतिर्ण देखिएका छन् । इशिलालेखमा समाचार प्रकाशित भएपछि सम्बन्धित विद्यालयका प्रध्यानाध्यापक तथा शिक्षकले उपमहानगरपालिकाको रिपोर्ट गलत रहेको बताएका हुन् ।

उक्त विषयमा उपमहानगरपालिकाका शिक्षा अधिकृत हरिश भट्टले केही प्राविधिक त्रुटी हुन गएको स्विकारे । उनले हालसम्म चार जना विद्यार्थी ए प्लसमा उतिर्ण देखिएको जानकारी दिए ।

उपमहानगरपालिकाको कार्यालयबाट प्राप्त परिक्षाफलः

प्रतिक्रिया दिनुहोस्