डुमरवानामा एसईई परिक्षार्थीको मृत्यु


eShilalekh

२२ चैत्र २०७९, बुधबार २०:२३

सिमराः राष्ट्रिय विभुति सामुदायिक शिक्षा सदन डुमरवानाबाट एसईई परिक्षा दिइरहेकी एक छात्राको मृत्यु भएको छ । जीतपुरसिमरा उपमहानगरपालिका १५ स्थित हात्तीसारका हेमन्त खड्काकी १७ वर्षीया छोरी सन्ध्या खड्काको मृत्यु भएको हो ।

उनको मृत्युको कारण खुल्न सकेको छैन् । एसईई परिक्षाको तयारी गरिरहेका बेला उनि अचानक अस्वस्थ बनेकी थिईन् । विद्यालयकै उत्कृष्ट छात्रामा पर्ने उनि विज्ञान विषयको परीक्षा सकेर बिहिवार हुने परिक्षाको तयारी गरिरहेकी थिईन् ।

विद्यालयमै परीक्षाको तयारी कक्षा चलिरहेका बेला उनले आफूलाई सास फेर्न गाह्रो भएको बताएपछि शिक्षकले स्थानीय मेडिकलमा लगेका थिए । मेडिकलका चिकित्सकले तत्कालै अक्सिजन लगाउनुपर्ने बताएपछि सिमरास्थित अल्पाईन अस्पताल ल्याइएको थियो ।

अस्पताल ल्याएलगत्तै चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए । चिकित्सकका अनुसार अस्पताल ल्याउँदा उनको मृत्यु भईसकेको थियो । छात्राको शव शल्यपरीक्षणका लागि वीरगन्ज लगिएको छ ।

छात्राको निधनपछि शोकमा डुबेका स्थानीयले समयमै अक्सिजन दिन नसक्दा दुखद् घटना भएको बताएका छन् । डुमरवानामा अक्सिजनसहितको स्वास्थ्य सेवा नभएका कारण सिमरा ल्याउनुपरेको र त्यहीबीचमा छात्राको निधन भएको बताइएको छ ।

डुमरवानामा रहेको शहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रमा समेत अक्सिजन सेवा उलपब्ध छैन् । साथै साँझ ५ बजे बन्द हुने उक्त केन्द्रबाट २४ घण्टे सेवा प्रवाह नहुँदा डुमरवानाबाट बिरामीलाई सिमरा, वीरगन्ज लैजानुपर्ने बाध्यता छ ।

प्रतिक्रिया दिनुहोस्