परिक्षाफलको प्राविधिक त्रुटी सच्याउदै उपमहानगर, नयाँ सफ्टवेयरबाट काम गर्दैछौंः भट्ट


eShilalekh

२३ चैत्र २०७९, बिहीबार २०:५५

सिमराः आधारभूत तह कक्षा ८ को प्रकाशित परिक्षाफलमा प्राविधिक त्रुटी देखिएपछि जीतपुरसिमरा उपमहानगरपालिकाको शिक्षा महाशाखा तीन दिनदेखि त्रुटी सच्याउन ब्यस्त छ ।

आइइएमआइएस सफ्टवेयरमार्फत सोमबार राती कक्षा ८ को परिक्षाफल प्रकाशित गरेपनि उक्त नतिजामा त्रुटी फेला परेको हो । परिक्षाफलमा त्रुटी भेटिएपछि शिक्षा शाखाका कर्मचारी तीन दिनदेखि त्रुटी सच्याईरहेका छन् ।

उपमहानगरपालिकाको शिक्षा महाशाखाले कक्षा ८ को परिक्षाफल संचारमाध्यमलाई समेत उपलब्ध गराएको थियो । शिक्षा शाखाबाट प्राप्त परिक्षाफल अनुसार संचारमाध्यमले समाचार प्रकाशन गरेपछि त्रुटी बाहिर आएको हो । शिक्षा शाखाले उपलब्ध गराएको परिक्षाफलमा नगर क्षेत्रभित्र एक जना मात्रै परिक्षार्थी ए प्लस श्रेणीमा उतिर्ण भएको देखिन्छ ।

तर संचारमाध्यममा समाचार प्रकाशित भएपछि अन्य विद्यालयका विद्यार्थी समेत ए प्लसमा उतिर्ण खुल्छ आउँछ । शिक्षा महाशाखाले उपलब्ध गराएको परिक्षाफल अनुसार इशिलालेखले पनि समाचार प्रकाशन गरेको थियो । समाचार प्रकाशन भएलगत्तै अन्य विद्यालयका संचालक तथा शिक्षकले आफ्नो विद्यालयमा अध्यनरत छात्रछात्रा समेत ए प्लसमा उतिर्ण भएको जानकारी गराएका थिए ।

विद्यालयका संचालक तथा शिक्षकले दिएको सूचनाको आधारमा शिक्षा महाशाखालाई बुझ्ने क्रममा परिक्षाफल रिपोर्टमै त्रुटी फेला परेको हो । महाशाखाका शिक्षा अधिकृत हरिष भट्टले विभागले उपलब्ध गराएको आइइएमआइएस सफ्टवेयरमार्फत काम गरेको तर उक्त सफ्टवेयरमा त्रुटी देखिएको बताएका छन् । उनले परिक्षाफलमा त्रुटी देखिएपछि नयाँ सफ्टवेयरमार्फत काम भईरहेको र केही दिनमै परिक्षाफलको वास्तविक नतिजा आउने बताए ।

शिक्षा शाखाले एक जना विद्यार्थी मात्रै ए प्लसमा उतिर्ण भएको परिक्षाफल प्रकाशित गरेपनि हालसम्म सफल होराईजन स्कुल, सेन्ट जोन्स एकेडेमी बारा, सिमरा पब्लिक ईङलिस स्कुल, पाथीभरा इङलिस बोर्डिङ स्कुल, ब्राइटर एकेडेमीलगायतका विद्यालयका छात्रछात्रा ए प्लस श्रेणीमा उतिर्ण भएको पाइएको छ ।

यसैगरी सफ्टवेयरमार्फत थुप्रै विद्यालयको नतिजामा फरक परेको छ । पथलैयास्थित होली गार्डेन ईङलिस बोर्डिङ स्कुलका विद्यार्थीले प्राप्त गरेको अंक सफ्टवेयरमा इन्ट्री गर्ने क्रममा त्रुटी भेटिएको छ । विद्यालयका प्रिन्सिपल भुवन राईले परिक्षाफल त्रुटीपूर्ण देखिएको भन्दै पुन: परिक्षण गर्न शिक्षा शाखामा निवेदन दिएका थिए । उनले निवेदन दिएपछि शिक्षा शाखाले जाँच गर्दा थुप्रै त्रुटी फेला पारेको हो ।

यता जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. १६ का वडाध्यक्ष हरिदेव खरेलले परिक्षाफल लुकाउन खोजिएको भन्दै सार्वजनिक गर्न माग गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत वडाध्यक्ष खरेलले सम्बन्धित विद्यालयको नतिजा सोही विद्यालयले मात्रै हेर्न पाउने भन्दा पनि सबैले हेर्न मिल्ने गरी सार्वजनिक गर्नुपर्ने उल्लेख गरेका छन् ।

शिक्षा अधिकृत भट्टले त्रुटी सच्याएर केही दिनमै नतिजा सार्वजनिक गर्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्