नव जनजागृतिको युथ टिम समूह बिजेता बन्दै सेमिफाइनल प्रवेश


eShilalekh

३० चैत्र २०७९, बिहीबार ०९:४५

सिमराः नव जनजागृति युवा क्लबको युथ टिम गोर्खामा जारी आठौं ओसन कप यु१३ राष्ट्रिय च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ । गोर्खामा भईरहेको सेभेन ए साइड प्रतियोगितामा एक खेल अगाडीनै नव जनजागृतिले अन्तिम चारमा स्थान सुरक्षित गरेको हो ।

नव जनजागृतिले बिहिवार समूह चरणको अन्तिम खेल हिलिफिल्डर गोर्खा एफसीसंग खेल्दैछ । यसअघि समूह चरणको चार खेलमा नव जनजागृतिले आयोजक ओसन क्लब गोर्खासहित गैरीबारी फूटबल क्लब चितवन, सोसल वेलफेयर काठमाण्डौ र नमुना स्पोर्ट्स काठमाण्डौलाई पराजित गरेको थियो ।

प्रतियोगितामा १२ टिमले सहभागिता जनाएका छन् । सहभागी टिमलाई दुई समूहमा विभाजन गरिएको छ । प्रत्येक समूहबाट शिर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् । चार खेलमा अपराजित रहेको नव जनजागृति शिर्ष स्थानमा रहदै सेमिफाइनल प्रवेश गरेको हो ।

नव जनजागृतिका प्रशिक्षक सोनु क्षेत्रीले टिमको प्रदर्शन उत्कृष्ट रहेको बताए । चार खेलमा प्राप्त गरेको जितले खेलाडीहरु उत्साहित रहेको बताउदै क्षेत्रीले उपाधी उचालेर सिमरा फर्कने बताए । प्रतियोगिताको विजेताले २० हजार र उपविजेताले १० हजार नगद प्राप्त गर्नेछन् ।

प्रतियोगितामा सहभागी गराउन नव जनजागृतिले १३ वर्ष मुनिका १२ जना खेलाडी छनौट गरेको थियो । सिमरा, अमलेखगंज, बकुलियासहित अन्य विद्यालयबाट छनौट भएका खेलाडीलाई प्रशिक्षण गराएर प्रतियोगितामा सहभागी गराइएको हो ।

प्रतिक्रिया दिनुहोस्