म्यादी सरकार टिक्दैन, केही दिनमै ढल्छः एमाले अध्यक्ष ओली


eShilalekh

७ बैशाख २०८०, बिहीबार २३:२७

पचरौताः नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पुष्पकमल दाहाल नेतृत्वमा रहेको वर्तमान सरकारको आयु धेरै दिन नरहेको बताएका छन् । उनले दाहाल नेतृत्वको सरकालाई म्यादीको संज्ञा दिदै केही दिनमै ढल्ने दाबी गरेका छन् ।

बारा क्षेत्र नं. २ को पचरौतामा बिहिवार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै ओलीले दाहाल नेतृत्वको सरकार रहेर पनि देशका लागि फाईदा नहुने बताएका छन् । वर्तमान सरकारलाई केही दिनको पाहुना सरकार भन्दै ओलीले जति दिन टिके पनि देश र जनताका लागि हित नरहेको बताए ।

दाहाल नेतृत्वको सरकार ढल्न एमालेले हात लगाउनै नपर्ने र आफै ढल्ने ओलीको भनाई थियो । ‘यो म्यादी सरकार हो, धेरै दिन टिक्दैन’ ओलीले भने ‘एमालेले हात लगाउनै पर्दैन् आफै ढल्छ । ’ ओलीले गठबन्धन दलको आपसी कारण सरकार ढल्ने बताए ।

एमाले सरकारले अघि बढाएका कामलाई निरन्तरता नदिएर वर्तमान सरकारले बजेट कटौती गरिरहेको भन्दै ओलीले यस्तो सरकारबाट जनताले आशा लिने ठाँउ नरहेको बताए । एमाले नेतृत्वको सरकारले निर्णय गरेको बृद्धभत्तालाई वर्तमान सरकारले कटौती गर्न खोजिरहेको भन्दै ओलीले कृषी, सिचाईका योजना समेत अघि बढाउन वर्तमान सरकारले नचाहेको बताए ।

उक्त चुनावी सभामा एमाले उम्मेदवार पुरुषोत्तम पौडेलगायतले सम्बोधन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्