बारा २ मा ६५ मतदान स्थल अतिसंवेदनशिल, सुरक्षा व्यवस्था कडा


eShilalekh

८ बैशाख २०८०, शुक्रबार २१:५९

सिमराः बारा क्षेत्र नं. २ को ८२ मतदान स्थलमध्ये ६५ मतदान स्थललाई अतिसंवेदनशिलको सूचिमा राखिएको छ । जिल्ला सुरक्षा समितिले भुगोल, पूर्वाधार, मतदातालगायतको अवस्थालाई मध्यनजर गर्दै मतदान स्थलको वर्गिकरण गरेको हो ।

मतदान स्थललाई वर्गिकरण गर्दै सुरक्षा समितिले सोही अनुसार सुरक्षाकर्मी परिचालन गर्ने रणनीति बनाएको छ । उपनिर्वाचनलाई निष्पक्ष र भयरहित बनाउन वर्गिकरणका आधारमा सुरक्षा व्यवस्था परिचलान गरिएको बाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले जानकारी दिएका छन् ।

‘हामीले निर्वाचनलाई निष्पक्ष, भयरहित र सुरक्षित बनाउन हरसम्भव प्रयास गरेका छौ’ प्रजिअ सापकोटाले भने ‘मतदाताले ढुक्क भएर मतदान गर्न सक्ने वातावरण बनिसकेको छ । त्यसै अनुसार सुरक्षा व्यवस्था परिचालन गरिसकेका छौ ।’

उपनिर्वाचनलाई लक्षित गरेर बिहिवार रातीदेखि भारतसंग जोडिएको सिमा नाका पूर्णरुपमा बन्द गरिएको छ । भारतीय पक्षसंग सहकार्य गरेर सिमा नाका बन्द गरिएको र उक्त क्षेत्रमा सुरक्षाकर्मीको सक्रियता बढाएको प्रजिअ सापकोटाले बताए ।

बैशाख १० गते हुने उपनिर्वाचनका लागि बारा दुई हजार पाँच सय भन्दा बढी सुरक्षाकर्मी परिचालन गरिने भएको छ । जसमध्ये नेपाल प्रहरीका करिब एक हजार सात सय, सशस्त्र प्रहरीका करिब ६ सय र नेपाली सेनाका करिब तीन सय सुरक्षाकर्मी परिचालित हुनेछन् ।

बाराका प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले शुक्रवार साँझसम्म नेपाल प्रहरीका एक हजार ६ सय ६८ जना चुनाव क्षेत्रमा परिचालन भईसकेको बताए । उनका अनुसार निर्वाचन क्षेत्र प्रवेश गर्ने नाका, मतदान स्थललगायत सबै ठाँउमा प्रहरी परिचालित भईसकेको र मतदानको दिन अति संवेदनशिल स्थलमा १२ जना र सामान्य मतदान स्थलमा आठ जनाका दरले प्रहरी परिचालन हुनेछन् ।

यसैगरी निर्वाचन क्षेत्रमा तीन जना प्रहरी नायब उपरीक्षक र १३ जना प्रहरी निरीक्षकको कमाण्डमा नियमित गस्ती हुने र एउटा स्थानीय तहमा प्रहरीका तीन वटा गाडीले गस्ती गर्ने बोगटीले जानकारी दिए । मतपेटिकाको सुरक्षाको लागि विशेष निर्देशन दिएको बताउदै बोगटीले मतपेटिका असुरक्षित हुने गतिविधि भएमा बुथमा खटिएका प्रहरीलाई गोली चलाउन समेत अधिकार दिइएको बताए ।

बोगटीले निर्वाचन क्षेत्र प्रवेश गर्ने सिम्रौनगढ, कोल्हबी, बारागढी, मटिअर्वा, कलैयालगायतका नाकामा प्रहरी परिचालन गरिएको र मतदानको दिन अन्य क्षेत्रका पैदल यात्रु समेत प्रवेश हुन नपाउने गरी सुरक्षा व्यवस्था कडा पारिने बताए । ‘मतदानको दिन निर्वाचन क्षेत्र पूर्णरुपमा सुरक्षा घेराभित्र रहन्छ । अनुमति प्राप्त सवारी साधन र अति आवश्यकबाहेकका कुनै पनि व्यक्ति निर्वाचन क्षेत्रभित्र प्रवेश गर्न पाउने छैनन् ’ बोगटीले भने ‘शंकास्पद गतिविधि र जबरजस्ती गरेमा प्रहरीले नियन्त्रणमा लिएर कारवाही प्रक्रिया अघि बढाउनेछ । ’

नेपाल प्रहरीपछि दोस्रो घेराको कमाण्ड सशस्त्र प्रहरीले सम्हाल्नेछ । सशस्त्र प्रहरी उपरीक्षक टोपबहादुर डांगीले करिब ६ सय सशस्त्र परिचालित हुने बताए । सिमा क्षेत्रमा खटिएका प्रहरीलाई त्यसै क्षेत्रमा खटाइएको र जिल्ला भित्र रहेका अन्य जनशक्तिलाई मतदान स्थल र निर्वाचन क्षेत्रमा परिचालन गरिएको डांगीले जानकारी दिए । बारामा मुसर्वा, मटिअर्वा, कवही, पिपरपाती, सिम्रौनगढलगायतका नाका छन् ।

यसैगरी निर्वाचन क्षेत्रमा करिब तीन सय नेपाली सेना खटिनेछन् । तेस्रो घेरामा परिचालित हुने सेनाले निर्वाचन क्षेत्रको सुरक्षा व्यवस्थालाई चुस्त राख्नेछ ।

८२ मतदान स्थलमा ६८५ जना कर्मचारी परिचालित

उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालयले ६ सय ८५ जना कर्मचारीलाई परिचालन गरेको छ । ८२ मतदान स्थलमा सोही अनुरुप मतदान अधिकृत, सहायक मतदान अधिकृत र कर्मचारी परिचालन गरिएको हो ।

निर्वाचन कार्यालय बाराका प्रमुख सरोज चौधरीले सबै मतदान स्थलमा कर्मचारी र निर्वाचन सामाग्री पुगिसकेको बताए । उनले शनिवारसम्म बुथ निर्माणको काम सम्पन्न हुने र सुरक्षासहित मतपत्र मतदान स्थलमा पुग्ने जानकारी दिए ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले एउटा मतदान केन्द्रमा पाँच जनाका दरले कर्मचारी खटाएको छ । ८२ मतदान स्थलमा एक सय ३७ मतदान (बुथ) केन्द्र छन् ।

एक लाख पाँच हजार भन्दा बढी मतदाता

बारा क्षेत्र नं. २ मा एक लाख पाँच हजार दुई सय ४८ मतदाता छन् । जसमध्ये ५८ हजार नौ सय ३४ पुरुष छन् भने ४६ हजार तीन सय १४ महिला मतदाता छन् ।

यस निर्वाचन क्षेत्रमा ६ वटा स्थानीय तहको ४४ वटा वडा पर्दछ । पचरौता नगरपालिका, महागढीमाई नगरपालिका, करैयामाई गाउँपालिका, देवताल गाउँपालिका, सुवर्ण गाउँपालिकाका सबै वडा पर्दछ भने कोल्हबी नगरपालिकाको वडा नं. ८ को भुभाग यस निर्वाचन क्षेत्रमा पर्दछ ।

नेपाल–भारत सिमाना तीन दिनका लागि बन्द

उपनिर्वाचनका लागि भारतसंग जोडिएका नेपालका सबै सिमाना तीन दिनका लागि बन्द गरिएको छ । जिल्ला प्रशासन कार्यालय बाराले बिहिवार राती १२ बजेदेखि तीन दिनका लागि सिमाना बन्द गरेको हो ।

बैशाख १० गते बेलुका ७ बजेसम्म नाकाबाट आवतजावतमा रोक लगाइएको छ । भारतीय पक्षसंग समन्वय गरेर नाका बन्द गरिएको प्रमुख जिल्ला अधिकारी सापकोटाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्