माग पूरा भएपछि महागढीमाईका नगर प्रमुखले भने ‘अब स्वागत गर्छु’


eShilalekh

२४ बैशाख २०८०, आईतवार २२:०८

सिमराः मन्त्रालयले प्रमुख प्रशासकीय अधिकृत पठाउने निर्णय गरेपछि बाराको महागढीमाई नगरपालिकाका नगर प्रमुख उपेन्द्र यादवले गठबन्धनका नेता र मन्त्रीलाई अब भने नगर क्षेत्रमा स्वागत गर्ने बताएका छन् ।

केही दिन अघि गठबन्धनका नेता र मन्त्रीलाई नगर क्षेत्रभित्र प्रवेश निषेध गरिएको भन्दै फेसबुकमार्फत आक्रोश पोखेका यादवले आइतवार स्वागत गर्ने उल्लेख गर्दै अर्को स्टाटस लेखेका हुन् ।

प्रवेश निषेध गरिएको भन्दै यादवले लेखेको स्टाटसले निकै चर्चा पाएको थियो । यादवको स्टाटससंगै महागढीमाई नगरपालिकाका स्थानीयले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको पुतला दहन गर्दै सामान्य प्रशासन मन्त्री अमनलाल मोदीको राजीनामा माग गरेका थिए । स्थानीयले लगातार आन्दोलन गर्न थालेपछि मन्त्रालयले डिल्लीराम भट्टराईलाई प्रमुख प्रशासकीय अधिकृतको रुपमा पठाउने निर्णय गरेको हो ।

मन्त्रालयको उक्त निर्णयपछि महागढीमाई नगरपालिकामा केही दिनदेखि जारी आन्दोलन समेत स्थगित भएको छ । नगर प्रमुख यादवले आफ्नो अघिल्लो स्टाटस र नगर क्षेत्रमा भएको आन्दोलन अन्य कारण नभई प्रमुख प्रशासकीय अधिकृत पठाउन वेवास्था गरेकै कारण भएको बताएका छन् । केही दिनदेखि काठमाण्डौमा रहेका यादवले गठबन्धनका नेता र मन्त्रीसंगको भेटपछि प्रमुख प्रशासकीय अधिकृत पठाउने निर्णय भएको बताए ।

चार महिनादेखि प्रमुख प्रशासकीय अधिकृत नहुँदा नगरपालिकाका ६ सय ५८ कर्मचारीले सेवासुविधा पाएका थिएनन् भने योजनाको काम अलपत्र अवस्थामा थियो ।

प्रतिक्रिया दिनुहोस्