इनर्वासिरामा बाल यौन दुर्व्यवहारविरुद्ध सचेतनामूलक कार्यक्रम सम्पन्न

सिमराः बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर–१९ इनर्वासिरामा बिहीबार बाल यौन दुर्व्यवहारविरुद्ध सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ । समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत आयोजना गरिएको यस कार्यक्रममा जनप्रतिनिधिसहित स्थानीय सर्वसाधारणको उपस्थिति रहेको थियो ।
कार्यक्रममा इलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरीक्षक दयाकृष्ण भट्टले पछिल्लो समय नाबालिकामाथि भइरहेका यौनजन्य दुर्व्यवहारका घटनाप्रति चिन्ता व्यक्त गरेका थिए । उनले यस्ता घटना रोकथामका लागि समाजका हरेक नागरिक सचेत हुनुपर्ने र कुनै पनि शंकास्पद गतिविधि देखेमा तुरुन्तै प्रहरीलाई खबर गर्न आग्रह गरे । बालबालिकालाई सुरक्षित राख्न अभिभावक, विद्यालय र प्रहरीबीच निरन्तर सहकार्य हुनुपर्नेमा उनले जोड दिएका थिए ।
कार्यक्रममा वडाध्यक्ष दीपेन्द्र क्षेत्री, पूर्ववडाध्यक्ष सुधनदास तत्मा, इलाका प्रहरी कार्यालय सिमराका प्रहरी वरिष्ठ नायब निरीक्षक रुपेश थपलियालगायतका स्थानीयको उपस्थिति रहेको थियो ।







