विद्यार्थीलाई ट्राफिक शिक्षा


eShilalekh

१ जेष्ठ २०८०, सोमबार ११:५८

सिमराः नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयले विद्यार्थीलाई लक्षित गरी ट्राफिक नियम सम्बन्धि सचेतना कार्यक्रम सम्पन्न गरेको छ । कार्यालयले पथलैयास्थित होली गार्डेन इङ्लिस बोर्डिङ स्कुलका विद्यार्थीका लागि ट्राफिक शिक्षा कार्यक्रम आयोजना गरेको हो ।

कार्यालयका प्रहरी सहायक निरीक्षक दीपक बस्नेतले विद्यालयका करिब एक सय विद्यार्थीलाई ट्राफिक नियमको बारेमा जानकारी गराएका थिए । विद्यार्थीलाई सचेत गराउन सके घर र समाज सचेत हुने भन्दै कार्यालयले विद्यालयमै पुगेर चेतनामूलक कार्यक्रम आयोजना गरेको हो ।

सचेतनामूलक कक्षामा बस्नेतले घरबाट बाहिर सडकमा निस्किएपछि पालना गर्नुपर्ने ट्राफिक नियमको विषयमा विद्यार्थीलाई जानकारी गराउदै दुर्घटना तथा क्षती न्युनिकरणमा सबैको भूमिका महत्वपूर्ण रहने बताएका थिए । ट्राफिक नियम पालना नगर्दा सडक तथा सवारी दुर्घटना हुनसक्ने भन्दै बस्नेतले सडकमा यात्रा गर्दा सचेत भएर हिड्न विद्यार्थीलाई आग्रह गरे ।

ट्राफिक चेतनासम्बन्धि कार्यक्रमलाई निरन्तर संचालन गर्दै आएका बस्नेत पछिल्लो पटक विद्यालयमा पुगेका हुन् । उनि ट्राफिक सचेतना सम्बन्धि कार्यक्रम संचालन गर्न सक्रिय देखिन्छन् । उनले राजमार्गमै सवारी चालक भेला गरेर सचेतनामुलक अभियान संचालन गर्दै आएका छन् । सवारी चालकसंग समय माग्दै बस्नेतले दुर्घटना तथा क्षति न्युनिकरणमा सहयोग गरिदिन आग्रह गर्ने गरेका छन् ।

नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयलमार्फत बस्नेत यसअघि सशस्त्र प्रहरी बलको विभिन्न गण तथा गुल्ममा समेत पुगेका थिए । राजमार्गमा खटिने सशस्त्र प्रहरीलाई पनि ट्राफिक नियम सम्बन्धि जानकारी हुनुपर्ने भन्दै सशस्त्र प्रहरी बलको सहकार्यमा बस्नेतले चेतनामूलक कार्यक्रम संचालन गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्