रक्सौलमा बन्धक बनाइएका ११ जनाको प्रहरीद्वारा उद्धार


eShilalekh

१ जेष्ठ २०८०, सोमबार २२:०७

सिमराः भारतको रक्सौलमा बन्धक बनाइएका ११ जनालाई प्रहरीले उद्धार गरेको छ । प्रहरी निरीक्षक मनोजकुमार शर्माको नेतृत्वमा रहेको भारतीय प्रहरी टोलीले रक्सौलमा बन्धक बनाइएका आठ महिला र तीन पुरुषलाई उद्धार गरेको हो ।

राम्रो तलबसहित मार्केटिङको काम दिने बहानामा विभिन्न समयमा बोलाईएका उनिहरुलाई बन्धक बनाएर राखिएको अवस्थामा उद्धार गरिएको प्रहरीको भनाई छ । एएसटीयु एसएसबी रक्सौलको संयुक्त टोलीद्धार उद्धार गरिएका आठमध्ये सात जना झारखण्ड र एक जना बंगालका युवती हुन् ।

प्रहरी निरीक्षक शर्मालाई झारखण्डकी पीडित युवतीकी आमाले आफ्नो छोरी रक्सौलमा बन्धक रहेको सूचना दिएपछि रक्सौल प्रहरीले रेस्क्यु अप्रेशन सुरु गरेको थियो । प्रहरीले मोबाइलको लोकेशन पछ्याउदै पीडित किशोरीलाई बन्धक बनाइएको स्थानमा पुगेर उद्धार गरेको हो ।

रेस्क्यु अप्रेशनमा मानव तक्करी रोधी इकाई क्षेत्र बेतिया कार्यालय ४७औं वाहिनी रक्सौलका प्रहरी निरीक्षक शर्मासहित अनुमण्डल प्रहरी पदाधिकारी, रक्सौल अंचलाधिकारी, बिहार प्रहरी, सशस्त्र बल न्याय केन्द्र प्रोजेक्ट पूर्वी चम्पारणलगायतको टोली सहभागी थियो । टोली युवती र युवकलाई बन्धक बनाउन सक्रिय रहेका पाँचमध्ये दुई जनालाई पक्राउ गरेको छ भने अन्यको खोजी सुरु गरेको छ ।

उद्धार गरिएका किशोरीले आफूहरुमाथी पीडकले यौन शोषण गरेको बयान दिएका छन् । पीडकले १२ हजार रुपैया दिएमा मुक्त गरिदिने भन्दै रकम माग गरेको र उक्त रकम बुझाउन नसक्दा आफूहरुलाई औषधी खुवाउदै यौन शोषण गरेको बयान किशोरीले दिएको प्रहरीको भनाई छ । पीडित युवकसंग भने बन्धक बनाउनेले २० हजार नगद माग गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्