कांग्रेस जीतपुरसिमराको पदाधिकारीमा पण्डित पक्षका सबै निर्विरोध निर्वाचित (सूचीसहित)

सिमराः नेपाली कांग्रेस जीतपुरसिमरा उपमहानगर समितिको सभापतिमा रमेश पण्डित निर्विरोध निर्वाचित भएका छन् । अर्का आकांक्षी छविलाल शर्माले उम्मेदवारी फिर्ता लिएर समर्थन जनाएसँगै पण्डित सभापतिमा निर्विरोध निर्वाचित भएका हुन् ।
पण्डित र शर्माले बिहीबार राति सभापतिमा मनोनयन दर्ता गराएका थिए । निर्वाचन कार्यतालिका अनुसार शुक्रबार बिहान ११ः३० देखि मतदान गर्ने कार्यक्रम थियो । तर अन्तिम समयमा सहमति जुटाँउदै पण्डितलाई सभापतिमा निर्विरोध निर्वाचित गरिएको हो ।
समितिको पदाधिकारीमा पनि पण्डित पक्षकै सबै निर्विरोध भएका छन् । नगर उपसभापतिमा उदयबहादुर श्रेष्ठ, नगर उपसभापति (महिला) मा ज्ञानीदेवी पासवान, सचिवमा विनोद अधिकारी, सहसचिवमा दीपक दाहाल निर्विरोध निर्वाचित भएको निर्वाचन अधिकृत सूर्यजीत सिंहले जानकारी दिएका छन् ।

समितिको सदस्यमा भने मनोनयन दर्ता गरेका दुवै समूहलाई मिलाएर १७ जनाको नाम घोषणा गरिएको छ । सदस्यमा सरस्वती कंडेल, रिया सापकोटा, नेहा अधिकारी, हुसेन आरा खातुन, गायत्री देवी, पासाङ माया जिम्बा, सावित्री देवी, तुलसा तिमल्सेना, दुर्गा देवी माझी मुसहर, मिनाकुमारी मोक्तान, नैना देवी, नारायणप्रसाद बराल, मनिष भट्ट, चोलेन्द्र कटुवाल, मनोज साह, इश्वरीप्रसाद पौडेल र मुरारीप्रसाद तिमल्सेना निर्वाचित भएका छन् ।
नगर समितिमा कुल निर्वाचित हुनुपर्ने ५३ सदस्यमध्ये पाँच पदाधिकारीसहित २२ जनाको नाम निर्विरोध निर्वाचित गरेको हो । अन्य सदस्य भने नगर समितिले मनोनित गर्ने बताइएको छ ।
निर्वाचित समितिका पदाधिकारी र सदस्यलाई नेपाली कांग्रेसका सहमहामन्त्री फरमुल्लाह मन्सुरले प्रमाणपत्र वितरण गरेका थिए ।








