जनप्रतिनिधिको एक वर्षः जीतपुरसिमरा १६ ले गर्यो सर्वपक्षीय भेला तथा समिक्षा कार्यक्रम


eShilalekh

१२ जेष्ठ २०८०, शुक्रबार १८:४३

सिमराः निर्वाचित भएको एक वर्ष पूरा भएको अवसरमा जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. १६ का जनप्रतिनिधिले शुक्रवार सर्वपक्षीय भेला तथा समिक्षा कार्यक्रमको आयोजना गरेका छन् ।

जनप्रतिनिधिको रुपमा एक वर्षको कार्यकाल वडाबासीको चाहना तथा अपेक्षा अनुरुप भएनभएको समीक्षा गर्न वडाध्यक्ष हरिदेव खरेलले सर्वपक्षीय भेलाको आयोजना गरेका हुन् ।

सखुवाघाटस्थित वडा कार्यालयको भवनमा आयोजित कार्यक्रममा वडाध्यक्ष खरेलले पछिल्लो एक वर्षमा वडा कार्यालयले गरेका कार्य विवरण प्रस्तुत गरेका थिए । उनले समाजको हरेक क्षेत्रलाई सम्बोधन गर्दै योजना निर्माण गरेको र सोही अनुसार काम गरेको बताए ।

सडक, कृषी, स्वास्थ्य, शिक्षा, विद्युतलगायत आवश्यकता अनुसारका योजनालाई प्राथमिकतामा राखेर काम गरेको बताउदै खरेलले बाँकी रहेको कार्यकालमा पनि वडाबासीको सुझाव अनुसार अघि बढ्ने बताए । खरेलले नगर, प्रदेश र संघबाट चालु आर्थिक वर्षमा चार करोड भन्दा बढी रकम बराबरको योजनाको काम सम्पन्न हुने क्रममा रहेको जानकारी दिए ।

कार्यक्रममा सहभागी राजनीतिक दलका प्रतिनिधिले वर्तमान जनप्रतिनिधिको कार्यसम्पादन प्रशंसा गर्न लायक रहेको बताए । वडाध्यक्षसहितका जनप्रतिनिधिले जनताको चाहना अनुरुप काम गरेको बताउदै राजनीतिक दलका प्रतिनिधिले सबैको सल्लाह सुझावलाई सम्बोधन गर्दै अघि बढ्न सुझाव दिए ।

कार्यक्रममा नेकपा एमालेका पाण्डु सापकोटा, नेपाली कांग्रेसका श्याम तुम्सिङ, नेकपा माओवादी केन्द्रका नवराज श्रेष्ठले राजनीतिक दलका तर्फबाट सम्बोधन गरेका थिए । सशस्त्र प्रहरी बल ४० नम्बर हेडक्वाटरका सशस्त्र प्रहरी उपरीक्षक राजु श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा जनहित उपभोक्ता सहकारीका अध्यक्ष अनिल मैनाली, ब्रम्हकुमार गुणराज लामिछाने, टांगीयाबस्ती सरोकार समितिका संयोजक रमेश सापकोटा, संचारकर्मी गणेशराज रिजाललगायतले मन्तब्य राखेका थिए ।

वडाध्यक्ष खरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कार्यपालिका सदस्य पवित्रामाया कार्की, वडासदस्य प्रेमबहादुर गोले, हेमबहादुर बुर्जामगर, सोममाया रिमाल, वडासचिव पुष्पराज घिमिरेसहित विभिन्न संघसंस्थाका प्रतिनिधिको उपस्थिती रहेको थियो । कार्यक्रमको सहजीकरण रवीन्द्रराज भण्डारीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्