हातेमालो सहकारीद्धारा निःशुल्क दन्त परीक्षणको आयोजना


eShilalekh

१२ जेष्ठ २०८०, शुक्रबार १९:०९

सिमराः हातेमालो बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजनामा शुक्रवार निःशुल्क दन्त परीक्षणको आयोजना गरिएको छ । जीतपुरसिमरा १६ स्थित जनजागृति माध्यमिक विद्यालयका विद्यार्थीलाई लक्षित गर्दै शिविरको आयोजना गरिएको हो ।

मनोकामना डेन्टल सेवा केन्द्र र नेपाल डेन्टल केयर सेन्टरका चिकित्सको प्राविधिक सहयोगमा आयोजित शिविरमा तीन सय भन्दा बढी विद्यार्थीले दाँतको परीक्षण गराएका छन् ।

शिविरमा डेन्टल सर्जन डा. असद हुसेन, डा. मुकुन्द दाहाल, डा. डिल्लीराम भण्डारीसहित रेखा चौधरी, रमिता साह, श्वेता श्रेष्ठ, दीपलाल साहले विद्यार्थीको दाँतको परीक्षण गरेका थिए । परीक्षणका क्रममा बिद्यार्थीलाई निःशुल्क औषधी, ब्रस, मन्जन समेत वितरण गरिएको थियो ।

१६औं वार्षिकोत्सवको अवसरमा साताब्यापीरुपमा कार्यक्रमको आयोजना गर्ने क्रममा हातेमालोले दन्त परीक्षणको आयोजना गरेको हो । यसअघि बिहिवार जीतपुरमा रक्त परीक्षणको आयोजना गरेको थियो । संस्थाका प्रवन्धक महेश ढुंगलले अमलेखगंजमा निःशुल्क आँखा शिविरको तयारी भईरहेको बताए ।

उत्कृष्ट सहकारीको रुपमा स्थापित हातेमालो सहकारीले जेठ २० गते वार्षिकोत्सव समारोहको आयोजना गर्दैछ ।

प्रतिक्रिया दिनुहोस्