बकैया खोलामा मापदण्ड विपरित उत्खनन्,सम्झौतालाई लत्याउदै ठेकेदार कम्पनी


eShilalekh

१३ जेष्ठ २०८०, शनिबार १२:१४

सिमराः बाराको कोल्हबी नगरपालिका अन्तर्गत रहेको बकैया खोलाबाट मापदण्ड विपरित नदीजन्य पदार्थ (रोडा, ढुंगा, बालुवा) उत्खनन् हुन थालेको छ । चालु आर्थिक वर्षको ठेक्का अवधी समाप्त हुने मिति नजिकिएसंगै विक्री वितरणको अनुमति पाएको ठेकेदार कम्पनीले मापदण्ड विपरित नदीजन्य पदार्थ उत्खनन् गर्न थालेको हो ।

आर्थिक वर्ष २०७९।८० का लागि बकैया खोलाबाट नदीजन्य पदार्थ उत्खनन् गर्न कोल्हबीको रियन्स निर्माण सेवा, प्रसाई निर्माण सेवा, रामदुलारी कन्स्ट्रक्सन र काठमाण्डौको सिद्धार्थ निर्माण सेवाले संयुक्त रुपमा एिआरएस एण्ड आरडी जेभीमार्फत चार करोड एक रुपैयामा ठेक्का लिएको थियो । तीन करोड ९९ लाख ८३ हजार न्युनतम मूल्य राखेर बढाबढका लागि सार्वजनिक सूचना आह्वान गरिएको भएपनि उक्त ठेक्का १७ हजार बढाएर एिआरएस एण्ड आरडी जेभीले सकार गरेको हो ।

कागजी प्रतिस्पर्धा देखाएर नगरपालिकासंग ठेक्का सम्झौता गरेको कम्पनीले मापदण्ड विपरित उत्खनन् गर्दै आएपनि प्रभावकारी अनुगमन हुन सकेको छैन् । पछिल्लो पटक ठेकेदार कम्पनीले सम्झौता विपरित पाँच वटासम्म एक्साभेटर प्रयोग गरेर उत्खनन् गरेको पाइएको छ ।

नगरपालिकाले उत्खनन्का लागि बा३क ३३२ र ना१क ८१३४ नम्बरको एक्साभेटर प्रयोग गर्न ठेकेदार कम्पनीलाई अनुमति दिएपनि बा३क ३३०८, बा१क ८०८० र बा३क ३१०८ नम्बरको थप तीन वटा एक्साभेटर प्रयोग भएको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको हो । बाराका प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले मापदण्ड विपरित खोला उत्खनन् भईरहेको सूचना पाएपछि पुगेको प्रहरी टोलीले तीन वटा एक्साभेटर नियन्त्रणमा लिएको बताए ।

‘प्रहरी खोलामा पुग्दा अनुमति नपाएको एक्साभेटर प्रयोग भईरहेको अवस्थामा भेटियो । जसलाई हामीले नियन्त्रणमा लियौं’ प्रहरी उपरीक्षक बोगटीले भने ‘दुई वटालाई नगरपालिकाले कारवाहीस्वरुप जरिवाना लिएर छाडेको भन्ने जानकारीमा आएको छ । एउटा एक्साभेटरको चालक फरार भएका कारण खोलामै रहेको छ ।’ प्रहरी पुगेलगत्तै चालक फरार भएपछि एउटा एक्साभेटर खोलामै रहेको र चाबी प्रहरीले सुरक्षित राखेको बोगटीले जानकारी दिए ।

प्रहरी उपरीक्षक बोगटीले नगरपालिकाले जरिवाना लिई दुई वटा एक्साभेटर छाडेको बताएपनि नगर प्रमुख रामप्रसाद चौधरीले भने नगरपालिकाले हालसम्म जरिवाना नलिएको बताए । प्रहरीले एक्साभेटर नियन्त्रणमा लिएको भन्ने जानकारी पाएपनि उक्त एक्साभेटरको अवस्थाको विषयमा नगरपालिकाको कार्यालय र आफू अनविज्ञ रहेको चौधरीको भनाई छ ।

‘एक्साभेटर नियन्त्रणमा लिएको आधिकारिक जानकारी र फाइल नगरपालिकामा आएको छैन । हामीले जरिवाना पनि लिएका छैनौं’ प्रमुख चौधरीले भने ‘प्रहरीले एक्साभेटर समातेर कहाँ राखेको छ भन्ने औपचारिक जानकारी समेत हामीलाई दिइएको छैन ।’ यसअघि पनि समातिएका डोजर नगरपालिकासम्म नआउदै छाडिएको उदाहरण रहेको चौधरीले बताए ।

नगर प्रमुख चौधरीले मापदण्ड विपरित उत्खनन् तथा ढुवानीमा प्रयोग भएका सवारीसाधनलाई कारवाहीका लागि जिल्ला समन्वय समिति पठाउनुपर्ने प्रावधान रहेको बताए । यस विषयमा अनुगमन समितिको मुख्य भूमिकामा रहेको जिल्ला समन्वय समिति भने अनविज्ञ देखिएको छ ।

जिल्ला समन्वय समिति बाराका प्रमुख नरेन्द्र साहले एक्साभेटर नियन्त्रणमा लिइएको र छाडिएको विषयमा आफूलाई जानकारी नरहेको बताए । ‘एक्साभेटर समातिएको पनि थाहा छैन र छोडेको पनि जानकारी छैन’ साहले भने ‘तर मापदण्ड विपरित प्रयोग भएका एक्साभेटर जिल्ला समन्वय समितिमा पठाउनुपर्छ ।’

साहले चालु आर्थिक वर्षमा एकपटक मात्रै खोलाको अनुगमन गरेको बताए । अनुगमनका लागि पटकपटक प्रयास गर्दा पनि सम्बन्धित निकायबीच तालमेल नमिलेको साहको तर्क छ । ‘आफू एक्लै अनुगमनमा जाने कुरा भएन’ साहले भने ‘अन्य निकायले हामीसंग समन्वय गरेका छैनन् । त्यसैले समस्या भईरहेको छ ।’ खोलामा भईरहेको उत्खनन्को अनुगमन गर्न आफूले समन्वय गर्ने साहले बताए ।

यसअघि फागुन १५ गते जिल्ला समन्वय कार्यालयका प्रमुखसहित बाराका प्रमुख जिल्ला अधिकारी, प्रहरी उपरीक्षक, सशस्त्र प्रहरी उपरीक्षकको टोलीले खोलाको अनुगमन गरेको थियो । अनुगमनका क्रममा वतावरणीय प्रभाव मुल्यांकन (आईई) प्रतिवेदनमा एक मिटर गहिराईसम्म उत्खनन् गर्न पाउन उल्लेख भएपनि ठेकेदार कम्पनीले १.८२ मिटरसम्म खाल्डो पारेको देखिएको थियो ।

मापदण्ड विपरित उत्खनन् गरेको पाइएपनि ठेकेदार कम्पनीलाई कारवाही गर्न सम्बन्धित निकायले चासो देखाएनन् । फागुन १५ पछि खोलाको अनुगमन समेत हुन सकेकौ छैन् । नियमित अनुगमन नहुँदा ठेकेदार कम्पनीले मनोमानी ढंगले उत्खनन् गरिरहेका छन् ।

बाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले अनियमित ढंगले उत्खनन् भईरहेको विषय आफूलाई जानकारी आएलगत्तै नियन्त्रणका लागि नगरपालिकासंग समन्वय गरिरहेको बताए ।

प्रतिक्रिया दिनुहोस्