विद्यालय स्वास्थ्य कार्यक्रम अन्तर्गत अभिमुखिकरण सम्पन्न


eShilalekh

१४ जेष्ठ २०८०, आईतवार २०:२८

सिमराः जीतपुरसिमरा उपमहानगरपालिका भित्रका विद्यालयलाई लक्षित गर्दै आइतबार विद्यालय स्वास्थ्य सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । उपमहानगरपालिकाको जनस्वास्थ्य प्रवर्द्धन महाशाखाको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो ।

उपमहानगरपालिकाको २५ वटा विद्यालयमा स्वास्थ्य कार्यक्रम संचालन गर्ने अभियान अन्तर्गत आयोजित अभिमुखिकरणमा ५० महिला तथा पुरुष शिक्षकको सहभागिता रहेको थियो । महाशाखाले उपमहानगरपालिकाको २४ वटा वडाबाट एक/एक र टांगियाबस्तीको एक गरी २५ विद्यालयमा स्वास्थ्य कार्यक्रम संचालन गर्दैछ ।

उक्त विद्यालयका शिक्षकलाई स्वास्थ्य दुतका रुपमा अभिमुखिकरण कार्यक्रममा सहभागी गराइएको महाशाखा प्रमुख रवि भाष्करले जानकारी दिएका छन् । कार्यक्रममा सहभागी भएका शिक्षकले आफू कार्यरत विद्यालयमा स्वास्थ्य सचेतना सम्बन्धि अभियान संचालन गर्ने भाष्करको भनाई छ ।

महाशाखाले यसअघि जेठ ११ गते विद्यालयका प्रध्यानाध्यापक र स्वास्थ्य संस्थाका प्रमुखबीच अभिमुखिकरण कार्यक्रम संचालन गरेको थियो । अभियानकै रुपमा कार्यक्रम अघि बढाइएकाले शिक्षक, विद्यार्थी हुँदै अभिभावकसम्म स्वास्थ्यसम्बन्धि सचेतना पुग्नेमा आशावादी रहेको महाशाखा प्रमुख भाष्करले बताए ।

महाशाखाले स्वास्थ्य सम्बन्धि कार्यक्रम लागु भएका विद्यालयमा आँखा तथा कानको जाँच शिविर, किशोरीलाई आइरन चक्की, जुकाको औषधी वितरणलगायतको कार्यक्रम गर्ने तयारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्