अमलेखगञ्ज-लोथर पेट्रोलियम पाइपलाइन विस्तार गर्न नेपाल र भारतबीच सम्झौता


eShilalekh

१८ जेष्ठ २०८०, बिहीबार १५:१९

सिमराः बाराको अमलेखगञ्जदेखि चितवनको लोथरसम्म पेट्रोलियम पाइपलाइन विस्तार गर्न नेपाल र भारतबीच सम्झौता भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणका क्रममा नेपाल र भारतबीच उक्त सम्झौता भएको हो ।

प्रचण्ड र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच भएको सात वटा सम्झौतामा अमलेखगञ्ज-लोथर पाइपलाइनलाई प्राथमिकता दिइएको छ । मोतीहारी-अमलेखगञ्ज निर्माण सम्पन्न भएपछि उक्त पाइपलाइनलाई चितवनसम्म विस्तार गर्ने गरी अध्ययन हुँदै आएको थियो ।

नेपाल र भारतबीच अमलेखगञ्ज-लोथर, सिलिगुडी-झापा पाइपलाइन, झापामा भण्डारण स्थल, लोथरमा टर्मिनल निर्माण गर्ने सहमती भएको हो । उक्त कामका लागि भारतले झण्डै १७ अर्ब बराबरको सहयोग उपलब्ध गराउने भएको छ ।

अमलेखगञ्जदेखि लोथरसम्मको पाइपलाइनको दूरी ६२ किलोमिटर र सिलिगुडी–झापा पाइपलाइनको दुरी ५० किलोमिटरको हुनेछ । झापाको इन्धन भण्डारण क्षमता ४२ हजार किलोलिटर र लोथर टर्मिनलको क्षमता एक लाख तीन हजार एक सय ५० किलोलिटर बराबर हुनेछ ।

प्रतिक्रिया दिनुहोस्