जीतपुरसिमराले माग गरेको चार ठुला आयोजना राष्ट्रिय योजना आयोगको सूचिमा


eShilalekh

२२ जेष्ठ २०८०, सोमबार १९:२४

सिमराः जीतपुरसिमरा उपमहानगरपालिकाले माग गरेको चार वटा ठुला आयोजना राष्ट्रिय योजना आयोगको सूचिमा परेको छ । आयोगले आर्थिक वर्ष २०८०।८१ का लागि बजेट विनियोजन गर्ने क्रममा जीतपुरसिमराबाट माग भएको चार योजना छनौट गरेको हो ।

आयोगले छनौट गरेको चार योजनामध्ये दुई वटा कालोपत्रे सडक र दुई वटा सिँचाइ सम्बन्धि रहेको छ । उपमहानगरपालिकाले पुस अन्तिम साता आयोगलाई पत्राचार गर्दै १० वटा आयोजना माग गरेको थियो ।

उपमहानगरद्धारा माग गरिएका आयोजनामध्ये समपूरक अनुदानतर्फ हात्तिसार-फत्तेपुर-गुलरिया टोल-ठुलो मटरियादेखि मथुरापुर र जीतपुर-बकुलिया-आमाडार-खैरहवा-फत्तेपुर-बडहर्वा सम्म पुग्ने कालोपत्रे सडक छनौट भएको छ । तीन वर्षको निर्माण अवधी राखिएको उक्त दुई कालोपत्रे आयोजना लागि आयोगले आगामी आर्थिक वर्षमा समान दुई/दुई करोड विनियोजन गरेको छ । उक्त आयोजनाका लागि कुल २५/२५ करोड रकम विनियोजन लक्ष्य आयोगले लिएको छ ।

यसैगरी सिँचाइतर्फ जीतपुरसिमरा ८ मा गम्मरगावा सिँचाइ र जीतपुरसिमरा ७ मा सगरदिना बाँधपैनी सिँचाइ आयोजना छनौटमा परेको छ । कुल पाँच करोड ७८ लाख अनुमान गरिएको गम्मरगावा सिँचाइतर्फ आगामी आर्थिक वर्ष लागि एक करोड ३५ लाख बजेट विनियोजन गरिएको छ ।

यस्तै सगरदिना बाँधपैनी सिँचाईका लागि एक करोड १५ लाख बजेट विनियोजन भएको छ । सगरदिना बाँधपैनीका लागि चार करोड ८७ लाख बजेट खर्च हुने अनुमान गरिएको छ । सिँचाइका दुबै आयोजनाको निर्माण अवधी पनि तीन वर्षको हुनेछ ।

योजना आयोगले प्रस्ताव पेश गर्न माग गरे बमोजिम उपमहानगरपालिकाले पुस २९ गते १० वटा विभिन्न योजना समेटेर लागत अनुमानसहित आयोजना माग गरेको थियो । उपमहानगरपालिकाको कार्यालयबाट योजना छनौट भएपछि प्रशासकीय अधिकृत बालाराम खड्काले आयोगमा पत्राचार गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्