जीतपुरसिमरामा लघु उद्यम महिला र गार्मेन्ट उद्योगबीच सेवा सम्झौता


eShilalekh

३० जेष्ठ २०८०, मंगलवार २१:४०

सिमराः जीतपुरसिमरा उपमहानगरपालिकाको उद्यम विकास शाखाद्धारा संचालित लघु उद्यम विकास कार्यक्रममा सहभागी लघु उद्यमी महिला र गार्मेन्ट उद्योगबीच सेवा सम्झौता भएको छ ।

गरिवी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम (मेड्पा) द्धारा जीतपुरसिमरा ५ मा संचालित ३२ दिने एडभान्स गार्मेन्ट फेब्रिकेटर तालिममा सहभागी महिला र जीतपुरसिमरा ७ स्थित एच एण्ड ए गार्मेन्ट उद्योगबीच सेवा सम्झौता भएको हो ।

सम्झौता अनुसार तालिममा सहभागी महिलाले तीन सय ५० सेट कुर्तासुरुवाल र दुई सय ५० थान सर्ट पाइन्ट तयार गरेर गार्मेन्टलाई उपलब्ध गराउनेछन् । उक्त सेवावापत गार्मेन्टले महिलालाई पारिश्रमिक उपलब्ध गराउनेछ ।

जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख राजन पौडेल, उपप्रमुख भोलाप्रसाद अधिकारी, वडा नं. ५ का वडाध्यक्ष दीपेन्द्र चौधरी, गार्मेन्ट संचालक हारुण अंसारीको उपस्थितीमा सम्झौता भएको हो । सम्झौता कार्यक्रममा उद्यम विकास समितिका सदस्य रिता कंडेल, उद्यम विकास अनुगमन उपसमिति सदस्य शान्ताकुमारी बजगाईं, वडा सदस्य इश्वर चौधरी, इन्दल पासवानलगायतको उपस्थिती रहेको थियो ।

उद्यम विकास शाखाले मेड्पा कार्यक्रम अन्तर्गत आर्थिक वर्ष २०७८।७९ मा संचालन गरेको लघु उद्यम कार्यक्रममा सहभागी भएका महिलालाई सहभागी गराएर बकुलियास्थित साझा सुविधा केन्द्रमा ३२ दिने एडभान्स प्रशिक्षण दिएको थियो । उक्त प्रशिक्षण कार्यक्रममा सहभागी भएका महिला यसअघि गार्मेन्टसंग समन्वय गरी घरमै बसेर सिलाईं गर्दै आएका थिए ।

यसैगरी नगर प्रमुख पौडेलले वडा नं. ८ मा अगरबत्ती उद्योगको उद्घाटन गरेका छन् भने उद्योगका लागि आवश्यक प्रविधि हस्तान्तरण गरेका छन् । कार्यक्रममा वडा नं. ८ का शिवशंकर कुशवाहालगायत सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्