जीतपुरसिमराको नीति तथा कार्यक्रम सार्वजनिक, बजेट असार १० गते


eShilalekh

२ असार २०८०, शनिबार १८:३१

सिमराः जीतपुरसिमरा उपमहानगरपालिकाको नीति तथा कार्यक्रम शनिवार सार्वजनिक गरिएको छ । अमलेखगञ्जमा आयोजित आठौं नगरसभामा नगर प्रमुख राजन पौडेलले आगामी वर्ष २०८०।८१ को नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।

‘आत्मनिर्भर, सक्षम एवम् जनमुखी स्थानीय सरकार, समृद्धिपूर्ण सुशासन जीतपुरसिमराको आधार’ को परिकल्पना गर्दै नगर प्रमुख पौडेलले २० पृष्ठ लामो नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन् । नगरसभामा पौडेलले जनप्रतिनिधिका रुपमा अघिल्लो आर्थिक वर्ष उलपब्धीमूलक रहेको उल्लेख गर्दै भावी योजना प्रस्तुत गरेका थिए ।

पौडेलले आफ्नो नीति तथा कार्यक्रममा सेवा प्रवाह, सुशासन, स्वास्थ्य, कृषी, शिक्षा, पूर्वाधार, सहकारी, भूमी, न्याय, पर्यटनलगायत क्षेत्रलाई समेटेका छन् । उनले देशकै नमूना उपमहानगरपालिकाको रुपमा सवलिकरण गर्दै जीतपुरसिमरालाई सक्षम आत्मनिर्भर नगर बनाउने उदेश्य रहेको बताएका छन् ।

नगर प्रमुख पौडेलले स्वास्थ्य क्षेत्रतर्फ एक वडा एक एम्बुलेन्स सेवाको योजना कार्यान्यवन ल्याउने बताएका छन् । यसैगरी परम्परागत र आयूर्वेद उपचार पद्धतिलाई प्रवद्र्धन गर्ने योजना उनले ल्याएका छन् ।

कृषी क्षेत्रमा युवा अवस्थाको उर्जालाई कृषी क्षेत्रमा व्यवसायीकरण गर्न स्वरोजगार बन्ने र बनाउने, कृषी उपज भण्डार गर्न शित भण्डार र खाद्य भण्डार निर्माण, कृषी प्रयोजनका लागि माटो परीक्षण प्रयोगशाला निर्माणको योजना आफ्नो कार्यक्रममा पौडेलले समेटेका छन् ।

शिक्षा क्षेत्रमा एक विद्यालय एक बाल उद्यान, कक्षा ९ सम्मको प्रश्नपत्र उपमहानगरपालिकाले तयार गरी परिक्षा लिईने, नगर शिक्षा कोषको थालनी, एक विद्यालय एक नर्स, एमबिबिएस, ईन्जियनियरिङ पढ्ने छात्रछात्रालाई छात्रवृत्तिको योजना राखिएको छ । यसैगरी पूर्वाधारतर्फ उपभोक्ता समितिलाई निरुत्साहित गर्दै टोल विकास समितिमार्फत निर्माण कार्य गरिने, जीतपुरसिमरा ८ मा कृषी बजार, जीतपुर, सिमरा, नितनपुर र डुमरवानामा व्यापारिक भवन, पथलैया, अमलेखगञ्ज, वडा नं. ५ र वडा नं. २३ मा ट्रक तथा बस पार्किङ निर्माण गर्ने योजना नीति तथा कार्यक्रममा समेटिएको छ ।

वन तथा वातावरणतर्फ एक घर दुई विरुवा, २० माइक्रोन भन्दा माथीको प्लास्ष्टिकको झोला बिस्थापित, वडा र नगरको नेतृत्वमा फोहोर व्यवस्थापन, भूमितर्फ नगर भित्रका घरको आधुनिक प्रणालीमा अभिलेखिकरण, मालपोत र नापीलाई नगरपालिका अन्तर्गत ल्याउन पहल, स्थानीय सरकार संचालन ऐन बमोजिम जग्गाधनी पूजा वितरण, पर्यटनतर्फ जीतपुरसिमरालाई पर्यटन हब बनाउन विभिन्न कार्यक्रम ल्याइएको छ ।

नगर प्रमुखले पौडेलले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा १९ जना नगरसभा सदस्यले सुझाव राखेका थिए । नगरसभा सदस्यको सुझावलाई समेटेर अघि बढ्ने बताउदै नगर प्रमुख पौडेलले असार १० गते बजेट सार्वजनिक गरिने बताए । नगर प्रमुख पौडेलले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा केन्द्रीत रहेका नगर उपप्रमुख भोलाप्रसाद अधिकारीले बजेट सार्वजनिक गर्नेछन् ।

नगर प्रमुख पौडेलको अध्यक्षतामा सम्पन्न सभामा नगर उपप्रमुख अधिकारीले स्वागत मन्तब्य राखेका थिए । कार्यक्रमको सहजीकरण प्रमुख प्रशासकीय अधिकृत हरिलाल पुरीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्