पथलैयामा सिभिल इन्जिनियरिङ कक्षा सुरु


eShilalekh

३ असार २०८०, आईतवार १६:३१

सिमराः जीतपुरसिमरा उपमहानगरपालिका १ पथलैयास्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा आइतबारदेखि सिभिल इन्जिनियरिङ कक्षा संचालनमा आएको छ । उपमहानगरपालिकाका नगर प्रमुख राजन पौडेलले कक्षाको शुभारम्भ गरेका हुन् ।

प्राविधिक शिक्षा शुभारम्भ गर्दै प्रमुख पौडेलले दक्ष जनशक्ति उत्पादन हुनेमा आफू विश्वस्त रहेको बताए । दक्ष जनशक्ति उत्पादन हुन सके यस उपमहानगरको विकास निर्माणलगायतको कार्यमा ति जनशक्ती उपयोगी हुने पौडेलको भनाई थियो ।

नगर प्रमुख पौडेलले अस्तव्यस्त अवस्थाको रुपमा रहेको विकास निर्माणको कार्यमा समेत सुधार हुनसक्ने बताए । विज्ञ जनशक्तिको प्रयोग नगरेका कारण हाल भईरहेको विकास निर्माणको कार्य सन्तोषजनक नरहेको पौडेलले बताएका छन् ।

उनले प्राविधिक शिक्षालयबाट उत्पादन हुने जनशक्तिलाई यसै उपमहानगरसहित अन्य क्षेत्रको विकास निर्माणका सक्रिय रहेका निर्माण कम्पनीले प्रयोग गर्न सक्ने पौडेलको भनाई थियो ।

कार्यक्रममा उपमहानगरपालिकाका नगर उपप्रमुख भोलाप्रसाद अधिकारीले प्राविधिक शिक्षालय संचालन हुनु गौरवको विषय रहेको भन्दै उपमहानगरपालिकाले सहयोग गर्ने बताए । आफू गाविस अध्यक्ष भएका बेला पथलैयाको शिक्षा क्षेत्रको विकासका लागि काम गरेको बताउदै अधिकारीले आगामी दिनमा पनि आफू प्रतिवद्ध रहेको बताए ।

प्राविधिक कक्षा शुभारम्भ भएसंगै ९ देखि १२ कक्षासम्मका विद्यार्थीले सिभिल इन्जिनियरिङको कक्षामा अध्ययन गर्न सक्ने विद्यालयका प्रध्यानाध्यापक शम्भु मण्डलले जानकारी दिए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कल्याण आलेको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमको सहजीकरण शिक्षक रुवन थापाले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्