जीतपुरसिमराले ल्यायो दुई अर्ब दुई करोडको बजेट


eShilalekh

१४ असार २०८०, बिहीबार ११:१७

सिमराः जीतपुरसिमरा उपमहानगरपालिकाले आर्थिक वर्ष २०८०/८१ का लागि झण्डै दुई अर्ब दुई करोडको बजेट ल्याएको छ । आठौं नगरसभाको दोस्रो बैठकमा उपमहानगरपालिकाका नगर उपप्रमुख भोलाप्रसाद अधिकारीले दुई अर्ब एक करोड ८० लाख ४८ हजारको बजेट प्रस्तुत गरेका हुन् ।

उपप्रमुख अधिकारीले प्रस्तुत गरेको बजेट र विनियोजन ऐन नगरसभाको बैठकले पारित गरेको छ । असार २ गते नगर प्रमुख राजन पौडेलद्धारा प्रस्तुत नीति तथा कार्यक्रममा रहेर उपप्रमुख अधिकारीले बजेट ल्याएका हुन् ।

उपप्रमुख अधिकारीले आगामी वर्षका लागि आन्तरिक स्रोततर्फ ४२ करोड चार लाख, राजश्व बाँडफाँडतर्फ ३९ करोड ७३ लाख, वित्तिय समानिकरण अनुदानको २८ करोड ७५ लाख, संघ र प्रदेशबाट प्राप्त हुने सशर्त, समपुरक र विशेष अनुदानतर्फ ५९ करोड १८ लाख गरी एक अर्व ७० करोड आयको अनुमान गरेका छन् ।

अनुमानित आय भन्दा आगामी आर्थिक वर्षको बजेट ३१ करोड बढी छ । नगरसभामा बजेट प्रस्तुत गर्दै अधिकारीले अनुमानित आय भन्दा बढी देखिएको ३१ करोडको घाटा पूर्ति हुने गरी स्रोतको खोजी गरिने बताएका छन् ।

उपप्रमुख अधिकारीले शिक्षा, स्वास्थ्य, कृषी, भूमि, खेलकुद, पूर्वाधार, सशुासनसहित युवा, महिला, बालबालिका, बृद्धबृद्धालाई समेटेर बजेट विनियोजन गरेको बताएका छन् । समाजको सबै क्षेत्रलाई समेटेर ल्याइएको बजेटले समृद्ध उपमहानगर निर्माण गर्ने अभियानमा सहयोग पुग्नेमा आफू आशावादी रहेको बताए ।

उपप्रमुख अधिकारीले नगरबासीको चाहना र आवश्यकताका थुप्रै योजनालाई आगामी बजेटले सम्बोधन गर्ने प्रयास गरेको बताएका छन् ।

आगार्मी वर्षका लागि वडागत बजेटतर्फ ३३ करोड भन्दा बढी रकम छुट्याइएको छ । भुगोल, जनसंख्याका आधारमा २४ वटा वडालाई ३३ करोड २९ लाख ८० बजेट छुट्याइएको हो । नगर स्तरीय योजनाका लागि ३१ करोड छुट्याइएको छ भने शिक्षातर्फ आठ करोड, स्वास्थ्यतर्फ चार करोड, महिला बालबालिकातर्फ दुई करोड, कृषी तथा पशुपंक्षीतर्फ करिब सात करोड, पूर्वाधारतर्फ पाँच करोड रकम छुट्याइएको छ ।

नगर प्रमुख पौडेलको अध्यक्षतामा सम्पन्न नगरसभाको सहजिकरण प्रमुख प्रशासकीय अधिकृत हरिलाल पुरीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्