सांसद मैनालीको माग सम्बोधनः हुलाकी सडकको मुआब्जामा १० करोड विनियोजन


eShilalekh

२१ असार २०८०, बिहीबार २१:४२

सिमराः भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले हुलाकी सडकको जग्गा मुआब्जाका लागि १० करोड ३० लाख विनियोजन गरेको छ । आर्थिक वर्ष २०८०।८१ का लागि मन्त्रालयले उक्त रकम विनियोजन गरेको हो ।

सरकारले हुलाकी सडक बिस्तारका क्रममा जग्गा मुआब्जावापत सर्वसाधारणलाई दुई अर्ब भन्दा बढी रकम दिनुपर्नेछ । तर सडक निर्माण सम्पन्न भएपनि सर्वसाधारणले मुआब्जा वापतको रकम पाउन सकेका थिएनन् ।

बारा क्षेत्र नं. १ का सांसद अच्युत मैनालीले तामागढी–सिम्रौनगढ हुलाकी सडकका जनतालाई तत्काल मुआब्जा रकम उपलब्ध गराउन माग गर्दै आएका थिए । उनले बैशाख ३ गते भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई समेत पत्र लेखेर रकम विनियोजन गर्न माग गरेका थिए ।

मुआब्जा रकम उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराउदै आएका सांसद मैनालीले प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल मुआब्जाको विषयमा प्रश्नोत्तर समेत गरेका थिए । मैनालीको प्रश्नमा प्रधानमन्त्री प्रचण्डले मुआब्जाका लागि काम थाल्ने बताएका थिए ।

उक्त प्रश्नोत्तर कार्यक्रममा मैनालीले राष्ट्रिय गौरवका आयोजना बुढीगण्डकी, सुनकोसी मरीण डाईभर्सन, काठमाण्डौ–तराई मधेस द्रुतमार्ग, निजगढ अन्तर्राष्ट्रिय विमानस्थल, पूर्वपश्चिम रेलमार्गको जग्गा अधिग्रहण तथा क्षतिपूर्ति, तामागढी–सिम्रौनगढ हुलाकी सडकको मुवाब्जाको विषयमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए । सांसद मैनालीले मुआब्जाका लागि तत्काल बजेट विनियोजन नगरिए आमरण अनसन बस्ने चेतावनी समेत दिएका थिए ।

पटकपटक सरकारको ध्यानाकर्षण गराएसंगै तत्काल १० करोड ३० लाख बजेट विनियोजन भएको र मुआब्जा वापतको सम्पूर्ण रकम भुक्तानी गराउनका लागि निरन्तर पहल गर्ने सांसद मैनालीका स्वकिय सचिव दामोदर मैनालीले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्