नेपाल टेलिकम जनमैत्री हुनुपर्छः संचारमन्त्री शर्मा


eShilalekh

६ श्रावण २०८०, शनिबार २०:११

सिमराः संचार तथा सुचना प्रविधी मन्त्री रेखा शर्माले नेपाल टेलिकमले आफ्नो सेवामा गुणस्तरियता कायम गर्न सक्नुपर्ने बताएकी छन् । बाराको सिमरामा शनिवार आयोजित नेपाल टेलिकमको सेवा सम्बन्धि अन्तरक्रिया कार्यक्रममा बोल्दै शर्माले संचार सेवाको ब्यापार समेत गर्ने टेलिकमले सेवा प्रवाहलाई अझै व्यवस्थित बनाएर लैजानुपर्ने बताईन् ।

वर्तमान सरकार जनमैत्री ढंगले अगाडी बढिरहेको भन्दै शर्माले टेलिकमले दिने सेवा समेत जनमैत्री हुनुपर्ने शर्माको भनाई थियो । ‘संचार सेवा जनताको अधिकार हो । जनताको आँगनमा पुगेर दिनुपर्ने सेवा जनताले धाएर समेत नपाने भए त्यो सेवा लिनै पर्छ भन्ने हुँदैन । यस्तै नेपाल टेलिकमले जनतालाई दिने सेवा सुलभ बनाईनु पर्दछ ।’ सरकारकी प्रवक्ता समेत रहेकी शर्माले भनिन् ।

निजि कम्पनीहरु फस्टाउँदै जाने र सरकारी संस्था कमजोर हुँदा देश, जनता र कर्मचारीले दुःख पाउने अवस्था आउन सक्ने भन्दै शर्माले समय सापेक्ष सेवालाई विविधिकरण गर्दै सहज बनाउनु पर्नेमा जोड दिईन् । टेलिमकको सेवा सुधार र पूर्वाधार निर्माणमा सरकारका तर्फबाट आफुले पहल गर्ने बताउँदै मन्त्री शर्माले २०२३ भित्र देशका सम्पूर्ण क्षेत्रमा संचार सेवा पुर्याइने बताईन् । देशभरका सामुदायिक विद्यालयहरुमा निःशुल्क ईन्टरनेट सेवा विस्तार गर्ने, पालिकाका वडा तहसम्म सेवा दिने, प्रत्येक प्रदेशको दुई वटा जिल्लामा नमुना सेवा दिने कार्यक्रम रहेको शर्माले जानकारी दिईन् ।

कार्यक्रममा बारा क्षेत्र नं. ४ का सांसद किसान श्रेष्ठले सेवालाई चुस्तदुरुस्त बनाउन नसकेकै कारण निजी क्षेत्रबाट दबाएर बन्द हुन पुगेको जनकपुर चुरोट कारखानाको अवस्थामा नेपाल टेलिकमले व्यहोर्न नहुने बताए । जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख राजन पौडेलले जीतपुसिमरासहित कतिपय स्थानहरुमा अझै नेपाल टेलिकमको सेवा नपुगेको भन्दै सो स्थानमा सेवा दिन समेत आग्रह गरे ।

कार्यक्रममा नेपाल टेलिमकमका प्रबन्ध निर्देशक सुनिल पौडेल, संचार तथा सुचना प्रविधि मन्त्राललयका सहसचिव बाबुराम भण्डारीलगायत टेलिकमका उच्च अधिकारीहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्