यसरी धान खेतबाट पक्राउ परे चक्कुले घाँटी रेटेर फरार युवक

सिमरा: बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ मा चक्कुले घाँटी रेटेर एक युवकको हत्या गरेको घटनामा संलग्न आयुश राईलाई प्रहरीले पक्राउ गरेको छ । ३५ वर्षीय शेरबहादुर खड्काको हत्या अभियोगमा राई पक्राउ परेका हुन् ।
प्रहरीले राईलाई जीतपुरसिमरा-१६ स्थित धान खेतबाट पक्राउ गरेको हो । घटनालगत्तै पश्चिमको जंगलतर्फ भागेका राई राजमार्ग निस्किएर अटो चढेर जीतपुरसिमरा-१६ महेन्द्रनगरस्थित आफन्तको घरमा पुगेको बुझिएको छ ।
राई महेन्द्रनगर पुगेपछि इलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरीक्षक दयाकृष्ण भट्टको नेतृत्वमा प्रहरी टोली पुगेको थियो । प्रहरी आएको जानकारी पाएपछी राई त्यहाँबाट भागेर सखुवाघाटस्थित जनजागृति माध्यमिक विद्यालयबाट पश्चिमतर्फ रहेको आफन्तको घरमा पुगेका थिए ।
उक्त घरमा समेत प्रहरीले घेरा हालेपछि राई धान खेतबाट भाग्दै गरेका थिए । प्रहरीले धान खेतमा समेत घेरा हालेर राईलाई नियन्त्रणमा लिएको हो ।
राईले शनिबार साँझ जीतपुरसिमरा-२ स्थित नेपाल केबुल अगाडि रहेको सम्झना स्टाफ होटलमा बसिरहेका खड्कालाई चक्कुले घाटीमा रेटेर फरार भएका थिए । चक्कु प्रहारबाट गम्भीर घाइते भएका खड्कालाई तत्काल जीतपुरसिमरा नगर अस्पताल पुर्याइएपनि उपचार सम्भव नभएपछि बयोधा अस्पताल लगिएको थियो । तर अस्पताल पुर्याउनासाथ चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।
मदिरा सेवन गरेर अन्य तीन जनासँग उक्त होटलमा आएका राईले भान्साबाट चक्कु ल्याएर खड्काको घाँटी रेटेका थिए । घटनालगत्तै राईसहित दुई जना फरार भएका थिए भने दुई जना घाइते लिएर अस्पताल पुगेका थिए । अस्पताल पुगेका दुई जनालाई प्रहरीले सोही समयमा सोधपुछका लागि नियन्त्रणमा लिएको थियो ।







