रौतहटमा स्रोत नखुलेको दुई लाख ५४ हजार रुपैयाँसहित दुई जना पक्राउ

रौतहटः रौतहटको सदरमुकाम गौर भन्सार नाकाबाट प्रहरीले स्रोत नखुलेको दुई लाख ५४ हजार रुपैयाँसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा माधवनारायण नगरपालिका ७ लौकाहाका २६ वर्षीय सञ्जिव पण्डित र सोही स्थानका १८ वर्षीय रितिक दास रहेका छन् ।
भन्सार सुरक्षा गार्डबाट असई दीपक कुमार यादव तथा सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा गुल्म हेडक्वार्टर गौरबाट सशस्त्र प्रहरी नायब उपरीक्षक दुर्गा प्रसाद भट्टको नेतृत्वमा खटिएको संयुक्त टोलीले भन्सार कार्यालय अगाडि भारतबाट नेपालतर्फ आउँदै गरेको बीआर ०६ एआर ०८०२ नम्बरको मोटरसाइकल जाँच गरेको थियो ।
जाँचका क्रममा उनीहरूको साथबाट स्रोत नखुलेको उक्त नेपाली रुपैयाँ, दुई थान पायल, दुइ थान मोबाइल फोन तथा मोटरसाइकल बरामद गरिएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी वसन्त गौतमले बताए ।
नियन्त्रणमा लिइएका दुवै जनासहित बरामद नगद, सामान र मोटरसाइकललाई आवश्यक कारबाहीका लागि रौतहट भन्सार कार्यालयमा बुझाइएको छ । घटना सम्बन्धी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।







