ग्यासको मूल्य घट्यो, पेट्रोल-डिजेलको बढ्यो


eShilalekh

१६ श्रावण २०८०, मंगलवार २१:२७

सिमराः नेपाल आयल निगमले खाना पकाउने ग्यासको मूल्य घटाएको छ भने पेट्रोल, डिजेल र मट्टीतेलको भाउ बढाएको छ । निगमले विज्ञप्ति जारी गर्दै मंगलबार राति १२ बजेबाट लागू हुने गरी ग्यासको मूल्य घटाएको हो भने पेट्रोल, डिजेल र मट्टीतेलको भाउ बढाएको हो ।

निगमले ग्यासमा प्रति सिलिन्डर एक सय ३० रुपैया घटाएको छ । ग्यासको मूल्य घटेर अब एक हजार ६ सय ६० रूपैयाँ कायम भएको छ । यता पेट्रोलमा प्रति लिटर ९ र डिजेल तथा मट्टीतेलमा प्रति लिटर सात रुपैया बढाइएको छ ।

भारतीय आयल कर्पोरेसन (आइओसी) ले पठाएको मूल्यसूची अनुसार नयाँ मूल्य निर्धारण गरेको निगमले जनाएको छ । आइओसीले पेट्रोलमा प्रतिलिटर आठ रूपैयाँ १४ पैसा र डिजेलमा ६ रूपैयाँ ८६ पैसा बढाएर नयाँ मूल्य सूची पठाएको थियो भने ग्यासमा प्रतिसिलिन्डर ११७ रूपैयाँ ६२ पैसा घटाएर पठाएको थियो ।

निगमले तय गरेको नयाँ मूल्य देशका विभिन्न ठाउँअनुसार लागू हुनेछ । निगमले पेट्रोलियम पदार्थको दरका लागि तीन वर्ग विभाजन गरेको छ । पहिलो वर्गमा अमलेखगन्ज, वीरगन्ज, चारआली, विराटनगर, जनकपुर, भलवारी, नेपालगन्ज र धनगढी क्षेत्र पर्छन् । यो क्षेत्रमा अब पेट्रोलको भाउ १७० रूपैयाँ ५० पैसा प्रतिलिटर पर्नेछ । त्यस्तै डिजेल र मट्टीतेल १५० रूपैयाँ ५० पैसा पर्नेछ ।

यसैगरी दोस्रो वर्गमा सुर्खेत र दाङ क्षेत्र पर्छन् । यो क्षेत्रमा अब पेट्रोलको भाउ १७२ रूपैयाँ, डिजल र मट्टीतेल १५२ रूपैयाँ पर्नेछ । तेस्रो वर्गमा काठमाडौं, पोखरा र दिपायल क्षेत्र पर्छ । यो क्षेत्रमा अब पेट्रोलको भाउ १७३ रूपैया, डिजेल र मट्टीतेल १५३ रूपैयाँ पर्नेछ ।

प्रतिक्रिया दिनुहोस्