आँखा पाक्न थालेमा आत्तिने होईन, फैलिन नदिनतर्फ सचेत हुनुपर्छः डा. अंसारी


eShilalekh

१७ श्रावण २०८०, बुधबार १७:२१

सिमराः वर्षायाम लागेसंगै यतिबेला ‘आँखाको इन्फेक्सन’ देशभरी फैलिरहेको छ । अस्पताल र औषधी पसलमा आँखाको ईन्फेक्सनको औषधी किन्नेहरुको संख्या बढी छ । भाईरल ईन्फेक्सनका कारण यस्तो समस्या देखिएको चिकित्सकको भनाई छ । चिकित्सकका अनुसार अहिले बढ्दो अवस्थामा रहेको आँखाको समस्या भाइरसका कारण भएको हो । वर्षायाममा यसको किटाणु सक्रिय हुने गर्दछ । आँखा पाक्ने रोगलाई चिकित्सकीय भाषामा ‘कन्जक्टीवाइटिस’ भनिन्छ । धेरैजसो सानो बच्चामा यो समस्या देखिएपनि जुनसुकै उमेरका र समूहका महिला तथा पुरुष्मा यो संक्रमण हुनसक्छ । धेरै भिडभाड हुने ठाउँहरूमा यो रोग एक व्यक्तिबाट अर्को व्यक्तिमा सजिलै सर्दछ । एक जनाबाट अर्कोमा सजिलै सर्ने भएकाले एकैपटक धेरै जनामा यो समस्या देखिन सक्छ । यसै विषयमा केन्द्रीत रहेर इशिलालेखकर्मी निलिसा वर्माले आँखा रोग विशेषज्ञ एवम् सर्जन डा. जाहिर अंसारीसंग गर्नुभएको कुराकानीको सम्पादित अंशः

यो रोग कसरी सर्छ?

यस्तो समस्या बालबालिकामा बढी देखिन्छ । बालबालिकालाई रुघा, खोकी लागेको हुन्छ । उनिहरुले हाच्छिउ गर्दा, खोक्दा भाइरस सर्छ । बच्चाको आँखा पाकेको छ र उसले आफ्नो आँखा छोएर घरका अन्य सदस्यलाई छोएमा यो रोग फैलिन समय लाग्दैन । त्यसबाहेक आईकन्ट्याक (आँखाको सिधा सम्पर्क) पनि यो सर्ने अर्को कारण हुन्छ । अर्को भनेको अफिसमा काम गर्ने कसैमा यस्तो समस्या देखिएको छ र उसले छोएको सामान अरु कसैले छोएर आँखा चलाएर यो ईन्फेक्सन सर्ने सम्भावना अधिक हुन्छ ।

यसको लक्षणहरु के के हो?

अचानक आँखा रातो हुने, रसाउने, कचेरा निस्कने र बच्चाहरुमा उच्च ज्वरो आउने, घाँटी खसखस गर्ने, बच्चाको नाकबाट पानि बगिरहने हुन्छ । यसैगरी उल्टी, पखालाका साथै भाईरल ईन्फेक्सन भएकाले कान पनि दुख्ने गर्दछ ।

यसबाट जोगीने उपाय के के हुन?

यो भाईरल ईन्फेक्सन हो त्यसकारण आत्तिनुपर्दैन । दुईवटा काम गर्यो भने यसबाट जोगिन सक्छौ । पहिलो साबुन पानिले नियमित हात धुने र दोस्रो सेनिटाइजरको प्रयोग गर्ने । जुन हामी कोभिडको बेला प्रयोग गरेका थियौ । घरपरिवारमा कसैलाई भएको छ भने घरको त्यो सदस्यलाई आईसुलेट अर्थात एक्लै राख्ने । आईकन्ट्याक नगर्ने । आफूले प्रयोग गर्ने रुमाल, कपडा छुट्टाछुट्टै राख्ने । अरूलाई प्रयोग गर्न, छुन नदिने । सफा चिसो पानीले आँखा सफा गर्ने । कालो चस्माको प्रयोग गर्ने । सकेसम्म सँगै नसुत्ने, भिडभाड हुने ठाउँहरूमा नजाने ।

बालबालिकालाई भएको छ भने केही समय विद्यालय नपठाउने, अफिसमा काम गर्ने कर्मचारीलाई भएको छ भने केही दिनका लागि विदा दिने । आँखा रातो भएको बिरामीलाई भेटेका छौ भने साबुनपानिले राम्रो संग हात धोएर आफ्नो काम गर्ने ।

यसको उपचार र सावधानीका अन्य उपाय के के हुन सक्छन् ?

औषधी र उपचारको बिषयमा हामी अलि सर्तक र सजक हुनुपर्छ । किनभने यसलाई हामीले राम्रोसंग उपचार गरेनौ र जोगिएनौ भने पछि गएर आँखाको दृष्टी पनि जान सक्छ । त्यसकारणले गर्दा यस्तो समस्या देखा परेमा आँखा रोग विशेषज्ञसंग परामर्श लिने, जाँच गराउनुपर्छ । यो एउटा भाईरल इन्फेक्सन भएकोले हामीले उपचार नगरे पनि ७ देखि १० दिनमा यो आफै निको हुन्छ । तर त्यो अवधीमा सजग हुनुपर्छ ।

यो भाइरसले गर्दा केही बिरामीको आँखा सुनिएको र केही बिरामीको आँखामा कचेरा आउने गर्छ । त्यसैले जथाभावी औषधी प्रयोग गर्नुहुँदैन । जथाभावी औषधीको प्रयोगले आँखालाई असर गर्न सक्छ । तर हामी आँखा रातो हुने वित्तिकै मेडिकलमा गएर औषधी प्रयोग गर्छौ । अहिले मेडिकलमा स्टेरोयड औषधी चलाउने गरिएको छ । जुन सुरुवाती अवस्थामा प्रयोग गर्ने औषधी होईन । यसले अझ बढी जोखिम हुन सक्छ । त्यसैले आँखा रोग विशेषज्ञको सल्लाह अनुसार औषधी प्रयोग गर्नुपर्छ । कहिलेकाहि सानो गल्तीले ठुलो समस्या निम्त्याउन सक्छ ।

डा. अंसारी कोशी अस्पतालको आँखा विभागको प्रमुख हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्