नेपालको दसौं स्थानमा उतिर्ण शुभारम्भ कलेजका छात्र अंसारी सम्मानित


eShilalekh

१९ श्रावण २०८०, शुक्रबार २०:४१

सिमराः स्नातक तह दोस्रो वर्षको परिक्षामा उत्कृष्ट अंक ल्याउदै नेपालको दसौं स्थानमा उतिर्ण हुन सफल रयान अंसारीलाई शुभारम्भ कलेजले शुक्रवार सम्मान गरेको छ । सिमरास्थित प्याराडाईज होटलमा आयोजित एक समारोहकाबीच कलेजले छात्र अंसारीलाई सम्मान गरेको हो ।

जीतपुरसिमरा उपमहानगरपालिका ५ बकुलिया घर भएका अंसारी स्नातक तह दोस्रो वर्षको परिक्षामा ७७ प्रतिशत अंकका साथ उतिर्ण भएका थिए । नेपाल भरीमै उत्कृष्ट १० भित्र पर्न सफल अंसारी र उनका बुवा आसमहम्मद अंसारीलाई कलेजले सम्मान गरेको हो ।

कलेजद्धारा आयोजित कार्यक्रममा जीतपुरसिमरा उपमहानगरपालिकाका नगर उपप्रमुख भोलाप्रसाद अधिकारी, मधेस विश्वविद्यालयका उपकुलपति डा. दीपक शाक्य, जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघका अध्यक्ष मोहन शर्मा लामिछाने र कलेका अध्यक्ष लालप्रसाद पुडासैनीले अंसारीलाई सम्मान गरेका हुन् ।

कलेजले अंसारीसहित दोस्रो वर्षको परिक्षामा उतिर्ण भएका २२ विद्यार्थीलाई समेत सम्मान गरेको थियो । दोस्रो वर्षको परिक्षामा शुभारम्भ कलेका ६ जना विद्यार्थी प्रथम र १६ जना विद्यार्थी द्धितीय श्रेणीमा उतिर्ण भएका थिए ।

कलेजले प्रथम श्रेणीमा उतिर्ण रयानसहित आरिफ अंसारी, आदित्य चौरसिया, शकुन्तला गुप्ता, किरण अर्याल, उज्वल पौडेल, द्धितीय श्रेणीमा उतिर्ण उमेश दास, दिलिप मिश्र, रोशन गुप्ता, उमादेवी अधिकारी, निशा मगर, चन्देश्वर चौधरी, अमृता भट्ट, रिंकु गुरुङ, विवेक ढुंगेल, दुर्गा नेपाल, रवि रौनियार, नन्दन चौधरी, रिंकु चौधरी, आशिष उपाध्याय, निशाकुमारी चौधरी र सुरज जमकटेललाई सम्मान गरेको थियो ।

सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रमुख अधिकारीले शैक्षिक क्षेत्रको विकासका लागि उपहानगरपालिकाले आर्थिक वर्ष २०८०।८१ का लागि तीन करोड विनियोजन गरेको बताए । शिक्षा क्षेत्रको विकास नभएसम्म समृद्ध समाजको कल्पना गर्न नसकिने भन्दै उपप्रमुख अधिकारीले शिक्षा क्षेत्रमा सुधार ल्याउन उपमहानगरपालिकाको कार्यालयले काम गरिरहेको बताए ।

यसैगरी मधेस विश्वविद्यालयका उपकुलपति डा. शाक्यले शैक्षिक स्तर सुधार गर्ने कार्यसंगै विद्यार्थी पनि अध्ययनका लागि मानसिकरुपमा तयार हुनुपर्ने बताएका छन् । विद्यार्थीले अन्य गतिविधिलाई भन्दा पनि अध्ययनमा केन्द्रीत हुन जरुरी रहेको बताए ।

जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघका अध्यक्ष लामिछानेले शुभारम्भ कलेजको शैक्षिक स्तरको प्रशंसा गरेका थिए । सिमराको विद्यार्थीले उत्कृष्ट अंकसहित देशभरीमै १०औं स्थानमा परिक्षा उतिर्ण गर्नु गौरवको विषय रहेको लामिछानेले बताए ।

कार्यक्रममा कलेज प्रमुख अनिल चौधरी, सरोज कार्की, मदन रिजाल, राजु कार्की, भरत आचार्य, किरण लोप्चनलगायतले मन्तब्य राखेका थिए । कलेजका अध्यक्ष पुडासैनीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सहजीकरण शिक्षक कृष्ण श्रेष्ठले गरेका थिए भने शम्भु मण्डलले स्वागत मन्तब्य राखेका थिए ।

को हुन् छात्र रयान अंसारी?

शुभारम्भ कलेमा अध्ययनरत छात्र रयान अंसारी जीतपुरसिमरा ५ बकुलियाका हुन् । उनको बुवा आसमहम्मद अंसारी लुगा सिलाउने (टेलरिङ) व्यवसाय गर्छन् । लुगा सिलाएर आफ्नो जिविकोपार्जन गर्दै आएका अंसारीले आफ्नो सन्तानलाई उच्च शिक्षा दिलाउदै आएका छन् ।

स्नातक तह पहिलो वर्षको परिक्षामा ६८ प्रतिशत अंकसहित उतिर्ण गरेका रयानले दोस्रो वर्षमा ७७ प्रतिशत अंक प्राप्त गरेका हुन् । उनले प्राप्त गरेको अंक नेपालकै उत्कृष्ट दसौंमा पर्छ । नेपालकै उत्कृष्ट हुने बुटवलका छात्रले ८४ प्रतिशत ल्याएका छन् ।
अंसारी मध्यम वर्गीय परिवारका हुन् । कलेजमा अध्ययन गर्दै आएका अंसारी दिउँसोको समयमा जीतपुरका दुई निजी विद्यालयमा अध्यापन गराउछन् ।

प्रतिक्रिया दिनुहोस्