कुटपिटको घटनाविरुद्ध बजगाईंद्धारा बारा प्रहरीमा उजुरी, दोषीलाई कारवाही गर्न माग


eShilalekh

२३ श्रावण २०८०, मंगलवार २१:४२

सिमराः राष्ट्रिय मानव अधिकार तथा सामाजिक न्याय मञ्च नेपाल (मानव अधिकार एलाईन्स) बाराकी कोषाध्यक्ष शान्ताकुमारी बजगाईंले एक महिलाद्धारा आफूमाथी घरभित्रै कुटपिट र दुर्व्यवहार भएको भन्दै जिल्ला प्रहरी कार्यालय बारामा उजुरी दिएकी छिन् ।

जीतपुरसिमरा १ स्थित घरमा बसिरहेको बेला सोही ठाँउकी संजीता खत्रीले घरमै प्रवेश गरेर कुटपिट र दुर्व्यवहार गरेको भन्दै बजगाईंले उजुरी दिएकी हुन् । प्रहरीमा उजुरी दिदै बजगाईंले आफूमाथी कुटपिट र दुर्व्यवहारको घटनालाई निष्पक्ष छानविन गर्न र दोषीलाई कानुनी दायरामा ल्याउन माग गरेकी छिन् ।

जीतपुरसिमरा उपमहानगरपालिकाको लघु उद्यम विकास कार्यक्रम अन्तर्गतको उद्यम विकास अनुगमन समितिकी सदस्य समेत रहेकी बजगाईंले उजुरीसंगै आफूमाथी घरभित्रै कुटपिट र दुर्व्यवहार भएको भिडियो समेत प्रहरीलाई उलपब्ध गराएकी छिन् । प्रहरीलाई आवश्यक प्रमाण उपलब्ध गराएर उजुरी दिएको बताउदै बजगाईंले निष्पक्ष अनुसन्धानको माग गरेकी छिन् ।

ईलाका प्रहरी कार्यालय सिमराले आफ्नो उजुरी दर्ता गर्न नमानेपछि बाराका प्रहरी उपरीक्षक होबिन्द्र बोगटीलाई घटनाको विषयमा जानकारी गराएर जाहेरी दिएको बजगाईंको भनाई छ ।

यसैबीच राष्ट्रिय मानव अधिकार तथा सामाजिक न्याय मञ्च नेपाल (मानव अधिकार एलाईन्स) ले बजगाईंमाथि भएको कुटपिटको घटनामा संलग्न व्यक्तिलाई कारवाही गर्न माग गरेको छ । एलाईन्सका सचिव श्रीराम साहद्धारा जारी विज्ञप्तिमा मानव अधिकारको क्षेत्रमा काम गर्दै आएकी बजगाईंमाथि कुटपिट भएको घटनाले दुःखद् रहेको उल्लेख गर्दै दोषीमाथि कारवाही गर्न माग गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्