वडाध्यक्षले भत्काईन् अनधिकृत बालुवा प्रशोधन केन्द्र, अन्य वडाको पनि भत्काउने तयारी


eShilalekh

२९ श्रावण २०८०, सोमबार २१:१२

सिमराः जीतपुरसिमरा उपमहानगरपालिका १४ की वडाध्यक्ष चयन गुरुङले मापदण्ड विपरित वडाभित्र संचालनमा रहेका पाँच वटा बालुवा प्रशोधन (वासप्लान्ट) भत्काएकी छिन् । गुरुङले दुधौरा खोला र बेहरी क्षेत्रमा संचालित अनधिकृत प्रशोधन केन्द्र डोजर लगाएर भत्काएकी हुन् ।

उपमहानगरपालिकाको मापदण्ड उलंघन गर्दै अनधिकृत रुपमा वासप्लान्ट संचालन रहेको पाइएपछि तत्कालै भत्काइएको गुरुङले बताईन् । मापदण्ड विपरित संचालनमा रहेका प्रशोधन केन्द्रलाई डोजर लगाएर भत्काइएको थियो ।

खोला क्षेत्रमा संचालित वासप्लान्टले मापदण्ड विपरित नदिजन्य पदार्थ उत्खनन् गरी भण्डारण गर्न थालेका थिए । रातीको समयमा नदिजन्य पदार्थ उत्खनन् गर्दै भण्डारण गरेको सूचना पाएपछि पुगेको वडाको टोलीले वासप्लान्ट भत्काएको वडाध्यक्ष गुरुङले बताएकी छिन् । वासप्लान्टमा स्थानीय केही स्थानीयले रोजगारी गर्दै आएको भएपनि मापदण्ड विपरित रहेको पुष्टि भएपछि भत्काउन बाध्य भएको वडाध्यक्ष गुरुङले बताईन् ।

वासप्लान्ट भत्काउने क्रममा उपमहानगरपालिकाका राजश्व शाखाका प्रमुख रमेश सुवेदीसहितका कर्मचारी पुगेका थिए । अधिकृत सुवेदीले नगर क्षेत्र भित्र संचालित अन्य प्रशोधन केन्द्र पनि अनुगमन गरिने र मापदण्ड विपरित भए सबै भत्काईने बताए ।

‘उपमहानगरपालिकाको कार्यालयसंग अनुमति नलिई संचालनमा रहेका र मापदण्ड पालना नगरेका सबै वासप्लान्ट भत्काइन्छ’ सुवेदीले भने ‘हामीसंग अनुमति लिएका उद्योगलाई कहाँ र कुन मापदण्ड भित्र रहेर संचालन गर्ने भन्ने निर्देशित गर्छौ । तर अहिले संचालनमा रहेका वासप्लान्टले मापदण्ड पालना गरेको पाईएन ।’

उपमहानगरपालिकाले नदीजन्य पदार्थ उत्खनन्, विक्री तथा वितरण कार्यलाई व्यवस्थित गर्न कार्यविधि समेत निर्माण गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्