कक्षा १२ को परीक्षाफल आज प्रकाशित हुँदै


eShilalekh

३० श्रावण २०८०, मंगलवार १३:४३

सिमराः राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाफल मंगलवार साँझ सार्वजनिक गर्ने तयारी गरेको छ । नतिजा सार्वजनिक गर्न बोर्डले दिउँसो बैठक बोलाएको छ ।

बोर्डले गत वैशाख २६ गते सुरू भई जेठ ५ गते सकिएको परीक्षाको नतिजा साउनमा प्रकाशित गर्ने तयारी गरेको थियो । कक्षा १२ को परीक्षामा देशभरीका एक हजार चार सय ५७ परीक्षा केन्द्रबाट करिब चार लाख ६७ हजार परीक्षार्थी सहभागी भएका थिए ।

बोर्डका अनुसार यस वर्ष ५६ हजारभन्दा बढी परीक्षार्थी ग्रेड वृद्धि परीक्षामा सहभागी छन् । बोर्डले विद्यार्थीको प्राप्ताङ्क इन्ट्री र रूजु गर्ने काम गरिसकेको छ। प्रत्येक विषयको सैद्धान्तिकतर्फ न्यूनतम ३५ प्रतिशत अङ्क प्राप्त गरेमात्रै विद्यार्थीले ग्रेडसिट प्राप्त गर्ने व्यवस्था गरिएको छ।

गत वर्ष कक्षा १२ मा ४९ प्रतिशत विद्यार्थीले मात्र ग्रेडसिट प्राप्त गरेका थिए। लेटर ग्रेडिङ निर्देशिकामा संशोधन गरेर जुन विषयमा एनजी हुन्छ त्यही विषयमा मात्रै ग्रेडवृद्धि परीक्षा दिन पाउने व्यवस्था गरिएको छ। यसअघि दुईभन्दा बढी विषयमा एनजी आए अर्को वर्ष सबै विषयको परीक्षा दिनुपर्ने बाध्यता थियो।

यसरी हेर्न सकिन्छ नतिजा

कक्षा १२ को परीक्षाफल बोर्डको आफ्नै वेबसाइड र नेपाल टेलिकमको विभिन्न प्लेटफर्मबाट थाहा पाउन सकिने व्यवस्था गरेको छ। बोर्डका अनुसार नतिजा राष्ट्रिय परीक्षा बोर्डको वेबसाइट www.neb.gov.np र नेपाल टेलिकमको वेबसाइटमा गएर हेर्न सकिन्छ। त्यसैगरी एसएमएसबाट पनि नतिजा हेर्न सकिने छ।

प्रतिक्रिया दिनुहोस्