यादवलाई हटाउदै जीतपुरसिमराको पूर्वाधार विकास शाखाको जिम्मेवारी झालाई


eShilalekh

३१ श्रावण २०८०, बुधबार २२:१२

सिमराः जीतपुरसिमरा उपमहानगरपालिको कार्यालयले पूर्वाधार विकास शाखा प्रमुखको जिम्मेवारी इन्जिनियर अभयकान्त झालाई दिएको छ । यसअघि शाखा प्रमुखको जिम्मेवारीमा रहेका रामनरेश यादवलाई हटाएर कार्यालयले झालाई उक्त जिम्मेवारी दिएको हो ।

लामो समयदेखि प्राविधिक र पूर्वाधार विकास शाखा प्रमुख रहदै आएका यादवको कार्यसम्पादन सन्तोषजनक नदेखिएको भन्दै जिम्मेवारी परिवर्तन गरिएको प्रमुख प्रशासकीय अधिकृत हरिलाल पुरीले बताएका छन् । पुरीले उपमहानगरपालिकाको केही योजनामाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको र उक्त उजुरीको विषयमा छानविन नभएसम्मका लागि जिम्मेवारीबाट मुक्त गरिएको बताए ।

उपमहानगरपालिकाको कार्यालयभित्र चमेना गृह र सभाहलको स्थानमा प्रशासनिक भवन निर्माण गरिएको, वडा नं. १० को वडा कार्यालय भवन, वडा नं. २२ को कल्भर्ट तथा ढलान र वडा नं. २१ को खानेपानी सामान खरिदमध्ये केही योजनामाथि अख्तियारमा उजुरी परेको र केही योजना अलपत्र पारिएको हुँदा सो विषयमा स्पष्ट पार्न आग्रह गर्दै काटिएको स्पष्टीकरण पत्र यादवले नबुझेपछि जिम्मेवारीबाट हटाइएको पुरीको भनाई छ । यादवले स्पष्टीकरण पत्र बुझ्न अस्विकार गरेपछि अख्तियारमा उजुरी परेका योजनाका कागजात र प्रमाण नष्ट हुन सक्ने भएकाले हाललाई जिम्मेवारीबाट मुक्त गरिएको पुरीले जानकारी दिए ।

पाँच वटा योजनाको विषयमा जवाफ माग्दै कार्यालयले बुधवार यादवलाई २४ घण्टे स्पष्टीकरण पत्र काटेको थियो । तर २४ घण्टा भित्र जवाफ दिन नसक्ने भन्दै यादवले पत्र बुझ्न मानेका थिएनन् । यादवले पत्र नबुझेलगत्तै प्रमुख प्रशासकीय अधिृकत पुरीले शाखा प्रमुखको जिम्मेवारी झालाई दिएका हुन् ।

२४ घण्टामा स्पष्टीकरण दिन सक्ने अवस्था हुँदैनः इन्जिनियर यादव

इन्जिनियर यादवले पाँच वटा योजनाको विषयलाई लिएर २४ भित्रै जवाफ मागिएपछि आफूले पत्र नबुझेको बताएका छन् । अख्तियारमा उजुरी परेका र अलपत्र पारिएको भनिएका योजनाको वास्तविक अवस्था जानकारी गराउन केही दिन समय लाग्ने हुँदा आफूले पत्र नबुझेको यादवले बताए ।

आफूलाई केही दिनको समय उपलब्ध गराएर योजनाको वास्तविक अवस्था मागेको भए आफू दिन तयार रहेपनि उक्त समय नदिइएको यादवको भनाई छ । आफूमाथि अन्यायपूर्ण व्यवहार गर्दै स्पष्टीकरण पत्र काटिएको र सो बुझ्न नमानेलगत्तै जिम्मेवारीबाट मुक्त गरिएको जानकारी आफूले पाएको बताए ।

उपमहानगरपालिकाको कार्यालयभित्र चमेना गृह र सभाहल बनाउदा जमिन ओगट्ने भएको हुँदा सबै अटाउने गरि प्रशासनिक भवन बनाउन खोजिएको बताए । उक्त कार्यका लागि जनप्रतिनिधि र कर्मचारीबाट सहमति लिएर आफूले काम अघि बढाएको यादवको भनाई छ ।

यादवले उपमहानगरपालिकाको अहित हुने गरी आफूले कुनै पनि काम नगरेको बताएका छन् । चरित्रमाथि प्रश्न उठ्ने गरिएको कार्यबाट आफू दुखित् रहेको भन्दै यादवले समय उपलब्ध गराए आफू जवाफ दिन तयार रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्