फेसबुक आईडी ह्याक गरी ठगी गरेको आरोपमा बाराका चार जना काठमाडौंबाट पक्राउ


निलिसा वर्मा

३२ श्रावण २०८०, बिहीबार १८:५८

सिमराः फेसबुक आईडी ह्याक गरी ठगी गरेको आरोपमा प्रहरीले विहिबार काठमाडौंबाट एक युवतीसहित पाँच जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाराका चार युवक र पोखराकी एक युवती रहेकी छिन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बसपार्कस्थित एक गेष्ट हाउसबाट जीतपुरसिमरा उपमहानगरपालिका १७ घर भई नयाँबसपार्क बस्ने सिमान्त लामा, अनुप श्रेष्ठ, अमन्त लामा, रोहन तामाङ र पोखरा महानगरपालिका १० की शुभेच्छा गुरुङलाई पक्राउ गरेको हो । उनिहरुले अर्काको फेसबुक आईडी ह्याक गरी विभिन्न व्यक्तिबाट १४ लाख ५८ हजार ठगी गरेको प्रहरीको भनाई छ ।

प्रहरी उपरीक्षक एवम् प्रवक्ता रवीन्द्र रेग्मीका अनुसार उनिहरुले हालसम्म ३० वटा फेसबुक आईडी ह्याक गरेको र विभिन्न व्यक्तिका १२ वटा जिमेल प्रयोग गरेको खुल्न आएको छ । बसपार्कको होटलमा बसेर ह्याक गरिएको फेसबुक आईडीबाट च्याट गरी ईसेवा र खल्ती वालेटमा रकम गर्न उनिहरु सक्रिय रहेको प्रवक्ता रेग्मीको भनाई छ ।

उनिहरुले विभिन्न व्यक्तिका १२ वटा जिमेल आईडी समेत प्रयोग गरेका छन् । प्रहरीका अनुसार पक्राउ परेकामध्ये सिमान्तले फेसबुक ह्याक गर्ने, अमन्तले च्याट गरेर रकम माग्ने, रोहनले सिमकार्ड उपलब्ध गराउने, अनुप र शुभेच्छाले वालेटमा आएको रकम झिक्ने गरेका थिए । प्रहरीले उनिहरुको साथबाट ल्यापटप, मोबाइललगायतका सामाग्री बरामद गरेको छ ।

विभिन्न २२ जना व्यक्तिले आफूहरु ठगिएको भन्दै उजुरी दिएको र अनुसन्धान गर्ने क्रममा उनिहरु समातिएको प्रवक्ता रेग्मीको भनाई छ । पक्राउ परेका पाँचै जनालाई विद्युतीय कारोबार ऐन २०६३ अनुसार कारवाहीका लागि जिल्ला प्रहरी परिसर टेकुमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्