प्रदेश सांसद सोनलद्धारा पतञ्जली योग शिविर भवनको उद्घाटन


eShilalekh

२ भाद्र २०८०, शनिबार १४:२०

सिमराः मधेस प्रदेशसभा सदस्य एवम् पूर्वमन्त्री जितेन्द्र सोनलले बाराको प्रसौनीमा निर्माण भएको पतञ्जली योग भवनको शनिवार उद्घाटन गरेका छन् । प्रसौनी गाउँपालिका वडा नं. ३ नौतनमा निर्माण भएको भवनको सोनलले एक कार्यक्रमकाबीच उद्घाटन गरेका हुन् ।

भवनको उद्घाटन गर्दै सोनलले योगको माध्यमबाट सभ्य र सुसंस्कृत समाज निर्माण गर्नुपर्ने बताए । मानसिक र शारीरिकरुपमा स्वस्थ रहनका लागि योगको भूमिका महत्वपूर्ण हुने भन्दै सोनलले यसले सकारात्मक सोचको विकास गर्ने बताए ।

सोनलको संसदीय विकास कोषबाट विनियोजित ३० लाखको लागतबाट उक्त भवनको निर्माण भएको हो । पतञ्जली योग समितिको आयोजनामा सम्पन्न भवन उद्घाटन कार्यक्रममा प्रसौनी गाउँपालिकाका अध्यक्ष विनोद जयसवाल, मधेस विश्वविद्यालयका उपकुलपति डा. दीपक शाक्य, अधिवक्ता रामचन्द्र सिंह, प्रसौनी गाउँपालिकाका पूर्वअध्यक्ष भोला गुप्ता, पतन्जली योग समितिका अध्यक्ष वीरेन्द्रप्रसाद साहलगायतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्