सिमराको केएसआर मुभिजमा दर्शक बढ्दै, पाँच हजार भन्दा बढीले हेरे ‘गदर२’


eShilalekh

२ भाद्र २०८०, शनिबार १७:४०

सिमराः बाराको सिमरामा संचालित केएसआर मुभिजमा पछिल्लो समय दर्शकको उपस्थिती बढ्दै गएको छ । दुई वटा स्क्रिनसहित गत असोजमा संचालनमा आएको आधुनिक सिनेप्लेक्स केएसआरमा दर्शकको आकर्षण बढ्दै गएको हो ।

सिमरा बिजनेश सेन्टरमा रहेको सिनेप्लेक्समा ११ अगस्टमा रिलिज भएको ‘गदर२’ पाँच हजार भन्दा बढी दर्शकले हेरेका छन् । भारतीय अभिनेता सन्नी देओल अभिनित ‘गदर२’ बाट सिनेप्लेक्सले १२ लाख भन्दा बढीको ब्यापार गर्न सफल भएको छ ।

दुई वटा स्क्रिन रहेको सिनेप्लेक्समा अहिले हिन्दी चलचित्र गदर२, जेलर, ओएमजी र नेपाली चलचित्र जुलेबी चलिरहेको छ । अन्य फिल्मको तुलनामा ‘गदर२’ को व्यापार बढी रहेको सिमरा बिजनेश सेन्टरका निर्देशक नसिम अख्तरले बताए ।

अख्तरका अनुसार टिकटमा मात्रै १२ लाख भन्दा बढीको ब्यापार ‘गदर२’ ले गरेको छ । ‘गदर२’ ले दीपकराज गिरी र दीपाश्री निरौलाको ‘छक्का पन्जा ४’ को व्यापारलाई पछ्याईरहेको छ । ‘छक्का पन्जा ४’ लाई सात हजार पाँच सय भन्दा बढी दर्शकले हेरेका थिए । ‘छक्का पन्जा ४’ ले १८ लाख भन्दा बढीको व्यापार गरेको थियो ।

गदर२ सहित अहिले चलिरहेको फिल्म हेर्न बारा र पर्सा मात्र नभई रौतहटलगायतका जिल्लाबाट दर्शक आउने गरेको अख्तरले बताए । यो समाचार तयार पार्दा शनिवार ६ सय भन्दा बढी टिकट बिक्री भईसकेको छ । दुवै स्क्रिन रातीसम्मका लागि हाउसफुल रहेको अख्तरले बताए । सिनेप्लेक्सको ‘स्क्रिन १’ एक सय १८ सिट र ‘स्क्रिन २’ एक सय ९९ सिट क्षमताको छ ।

अन्य दिनको तुलनमा शुक्रबार र शनिवार दर्शकको उपस्थिती बाक्लो रहने गरेको छ । तर सिनेप्लेक्सले अन्य दिनमा पनि दर्शकको उपस्थिती बढाउन टिकट मूल्य कम राखेको छ । शुक्रवार र शनिवार प्रति टिकट तीन सय रुपैया शुल्क लिने गरेको सिनेप्लेक्सले मंगलबार एक सय ९० लिने गर्छ । यस्तै आइतबार, सोमबार, बुधबार र विहिबार दुई सय ५० रुपैया शूल्क राखिएको छ । बिदाको दिनबाहेक अन्य दिन पनि दर्शकलाई आकर्षित गर्न शुल्क कम गरिएको र उपस्थिती बढ्दै गएको निर्देशक अख्तरले बताए ।

अख्तर सिमराका सफल व्यवसायी कासिम मियाँका छोरा हुन् । नव जनजागृति युवा क्लबका पूर्वअध्यक्ष समेत रहेका मियाँले ठुलो लगानीमा सिमरा बिजनेश सेन्टर संचालनमा ल्याएका हुन् । उनको बिजनेश सेन्टरको व्यवसायलाई अहिले छोरा अख्तरले हेर्दै आएका छन् ।

बिजनेश सेन्टरको सटर भाडा घटाईयो, व्यवसायी भित्रिने क्रम बढ्दै

सिनेप्लेक्ससंगै अख्तरले बिजनेश सेन्टरमा व्यवसायीको आकर्षण बढाउन विभिन्न योजना ल्याईरहेका छन् । कोरोनाका कारण व्यापार व्यवसाय ठप्प हुँदा व्यवसायी निकै मर्कामा परेका थिए ।

कोरोनाको कारण धरासायी बनेको व्यवसायबाट माथि उठ्न नसकेपछि व्यवसायीले सटर खाली गर्न थालेका थिए । सटर खाली हुन थालेपछि अख्तरले व्यवसायीको राहतका लागि भाडादर घटाएका छन् ।

यसअघि लिईदै आएको सात हजार पाँच सय दरको सटरलाई अहिले पाँच हजार तोकिएको छ । यसैगरी १५ हजार लिदै आएको सटरको भाडा अहिले १० हजार छ । भाडा घटाएपछि व्यवसायीको आउने क्रम सुरु भएको अख्तरले बताए ।

बिजनेश सेन्टरमा अहिले दुई वटा बैंक, एउटा सहकारी, डिपार्टमेन्ट स्टोर, पूजा, कपडा, जुत्ता, ट्राभल, टेलरिङलगायतका व्यवसाय संचालनमा छ । व्यवसायीलाई व्यवसाय सुरु गर्नका लागि एडभान्स रकम समेत नलिएको र उक्त रकम व्यवसायमै लगानी गर्नका लागि प्रोत्साहित गरिरहेको अख्तरले बताए ।

उनका अनुसार बिजनेश सेन्टरमा अहिले थप दुई वटा बैंक भित्रिने तयारीमा छ । यसैगरी अन्य बैंक तथा व्यवसाय संचालन हुन लागेको अख्तरले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्