पचरौताकी उपप्रमुखसहित परिवारमाथि भएको आक्रमणको चौतर्फी विरोध


eShilalekh

५ भाद्र २०८०, मंगलवार १८:०१

सिमराः पचरौता नगरपालिकाकी उपप्रमुख नसिमा खातुनसहित परिवारमाथि शनिवार राती भएको आक्रमणको चौतर्फी विरोध भईरहेको छ । बैरियास्थित घरमै प्रवेश गरेर एक समूहले आक्रमण गरेको घटनाप्रति विभिन्न निकायले विरोध जनाएका छन् ।

पछिल्लो पटक घटनाको विरोध गर्दै मंगलबार जीतपुरसिमरा उपमहानगरपालिकाले विज्ञप्ति जारी गरेको छ । स्थानीय सरकारलाई हतोत्साहित बनाउन आक्रमण गरिएको भन्दै उपमहानगरपालिकाका प्रवक्ता भोजबहादुर खत्री (ईश्वर) ले दोषीमाथि कडा कारवाहीको माग गरेका छन् ।

यसअघि नेपाल नगरपालिका संघ र निजगढ नगरपालिकाले विज्ञप्ति जारी गर्दै घटनाको विरोध गरेका थिए । नगरपालिका संघका अध्यक्ष भीमप्रसाद ढुंगानाले उपप्रमुखसहित परिवारमाथि भएको आक्रमणका दोषीलाई कानुनी दायरामा ल्याउन माग गरेका थिए ।

यसैगरी निजगढ नगरपालिकाका नगर प्रमुख सुरथ पुरीले उक्त घटनामा संलग्न व्यक्तिहरुमाथी कारवाही गर्न सरकारसंग माग गरेका छन् ।

उक्त समूहले कुटपिट गर्दा उपप्रमुख खातुन, उनका पति नेवाजी अंसारीलगायतका व्यक्ति घाईते भएका थिए । घाईतेको गण्डकस्थित न्युरो अस्पतालमा उपचार भईरहेको छ ।

पचरौता नगरपालिका वडा नं. २ का वडाध्यक्ष मनोज यादवसहितका व्यक्तिले घरमै प्रवेश गरेर उपप्रमुखसहित परिवारका सदस्यलाई कुटपिट गरेको र घरमा लुटपाट गरेको स्थानीयको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्