हुलास स्टीलमा क्रेनको हुक चुडिएर लाग्दा चालकको मृत्यु


eShilalekh

६ भाद्र २०८०, बुधबार १८:४५

सिमराः जीतपुरसिमरा १ स्थित हुलास स्टीलमा कार्यरत एक सवारी चालकको बधुवार मृत्यु भएको छ । उद्योगमा काम गर्ने क्रममा क्रेनको हुक चुडिएर लाग्दा वीरगन्ज महानगरपालिका १४ पिप्राका वीरेन्द्र राउत कुर्मीको मृत्यु भएको हो ।

करिब ४५ वर्षीय कुर्मीको वीरगन्जस्थित स्पर्श अस्पतालमा उपचारका क्रममा ज्यान गएको हो । उद्योगमा काम गर्ने क्रममा बिहान करिब ६ः३० बजे आफैले चलाएको क्रेनको हुक चुडिएर लाग्दा उनि घाइते भएका थिए ।

घटनालगत्तै सिमरास्थित अल्पाइन अस्पतालमा उपचार गराई वीरगन्जमा रहेको स्पर्श अस्पताल लगिएको थियो । अस्पतालमा उपचारका क्रममा करिब १२ बजे कुर्मीको मृत्यु भएको परिवारले जनाएको छ ।

कुर्मीको मृत्यु भएपछि परिवार र आफन्तले अस्पतालमाथि आक्रोश पोखेका छन् । चिकित्सकको लापरवाहीका कारण कुर्मीको ज्यान गएको परिवारको भनाई छ । यता चिकित्सकले भने छातिमा गम्भिर चोट भएका कारण ज्यान गएको बताएका छन् ।

कुर्मीको मृत्यु भएपछि मृतकका परिवार, उद्योग प्रशासन र अस्पताल प्रशासनबीच छलफल भएको छ । छलफलमा मृतक परिवारले उपचारमा लापरवाही गर्ने चिकित्सकमाथि कारवाहीको माग राखेका छन् ।

कुर्मी करिब ३० वर्षदेखि उद्योगमा कार्यरत रहेको परिवारले जानकारी दिएका छन् । उनले उद्योग भित्र ठुला सवारीसाधन चलाउने गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्