एसियन गेम्सको तयारीका लागि तेक्वान्दो खेलाडी थाइल्याण्ड प्रस्थान


eShilalekh

१२ भाद्र २०८०, मंगलवार १५:५८

सिमराः चीनको हाङ्जाउमा हुने १९औं एसियन गेम्सको तयारीका लागि नेपालका तेक्वान्दो खेलाडी मंगलबार थाइल्याण्ड प्रस्थान गरेका छन् । सेप्टेम्बर चौथो सातादेखि सुरु हुने एसियन गेम्सको तयारीका लागि ९ जना खेलाडी थाइल्याण्ड प्रस्थान गरेका हुन् ।

प्रशिक्षणका लागि खेलाडी राहुल कुमाल, गोबिन्दबहादुर आले, बीरबहादुर महरा, अभिशेक बराल, ज्याकी यादव, अञ्जली तामाङ, आयशा लामा, सन्ध्याकुमारी सिंह र ईन्दिरा बस्नेत थाइल्याण्ड गएका हुन् । खेलाडीसंगै प्रशिक्षक टिकाप्रसाद लिम्बु, कुमार लामा घिसिङ  र ग्यानी चुनारा समेत थाइल्याण्ड गएका छन् ।

प्रशिक्षणका लागि थाइल्याण्डको बैंकक प्रस्थान गर्नुअघि खेलाडीलाई नेपाल तेक्वान्दो संघका अध्यक्ष प्रकाश राणा, उपाध्यक्ष भानु चन्दलगायतलले विदाई गरेका थिए । सातदोबाटोस्थित संघको भवनमा आयोजित बिदाई कार्यक्रममा अध्यक्ष राणाले तेक्वान्दो पदकको आशा गरिएको खेल भएकाले तयारीलाई प्रभावकारी बनाउन आग्रह गरेका छन् ।

प्रशिक्षणबाट खेलाडीलाई थप अनुभव बटुल्न मद्यत पुग्नेमा आफू आशावादी रहेको अध्यक्ष राणाको भनाई थियो । बिदाई कार्यक्रममा उपाध्यक्ष भानु चन्दले खेलाडीको मनोबल थप उच्च पार्नका लागि संघले तयारी प्रशिक्षणको व्यवथापन गरेको बताए ।

बैंककमा तयारी गरेर खेलाडी सेप्टेम्बर १७ तारिख नेपाल फर्कनेछन् । बैंककबाट फर्किएलगत्तै खेलाडी चीनको हाङ्जाउ जानेछन् । हाङ्जाउमा सेप्टेम्बर २३ देखि अक्टोबर ८ सम्म १९औं एसियन गेम्स हुँदैछ ।

बिदाई कार्यक्रममा प्रशिक्षक कबिराज खड्गी, हेमन्त डांगी, संघका कार्यालय प्रमुख प्रलाद थापा, नेपाल तेक्वान्दो संघ मधेस प्रदेशका महासचिव राजकुमार लामालगायत उपस्थित थिए ।

प्रतिक्रिया दिनुहोस्