पूरा भयो ‘नचुहिने घरको सपना’


eShilalekh

१२ आश्विन २०८०, शुक्रबार १८:४०

सिमराः प्रभु शमशेर जबरा तथा राजी राणा परोपकार निजी गुठीले जीतपुरसिमरा उपमहानगरपालिका ६ का मुसहर समुदायका २० परिवारलाई शुक्रवार नयाँ घर हस्तान्तरण गरेको छ । स्वर्गीय प्रभु शमशेर जबराकी पत्नी राजी राणाले मुसहर परिवारलाई एक कार्यक्रमका बीच घरको चाबी, नगद र कागजपत्र हस्तान्तरण गरेकी हुन् ।

लामो समयदेखी ऐलानी जग्गामा बस्दै आएका अति विपन्न मुसहर परिवारलाई स्वर्गीय जबराकी पत्नी राणाले पाँच करोड भन्दा बढीको लागतमा घर निर्माण गरिदिएकी हुन् । घर निर्माणका लागि जग्गा अभाव भएपछि आफ्नै नाममा साढे सात कठ्ठा जग्गा खरिद गरेर गुठीले मुसहर समुदायका लागि नयाँ बस्ती खडा गरेको हो ।

एउटा परिवारका लागि करिब सात धुर जमिनमा तीन कोठे घर, शौचालय र पानीका लागि चापाकलको व्यवस्था गरिएको छ । व्यवस्थित ढंगले निर्माण गरिएको उक्त घर हस्तान्तरण गरेर केही परिवारको अनुहारमा खुशी ल्याउन पाँउदा आफू हर्षित भएको राणाले बताएकी छिन् ।

गोलाप्रथाबाट आफैले छानेको नम्बर अनुसारको चाबी लिएर नयाँ घरमा पस्दै गर्दा उनिहरुको आँखा रसाएको देखिन्थ्यो । निर्माण गरिएको २० वटा घर गोलाप्रथाबाट हस्तान्तरण गरिएको थियो । दैनिक ज्यालादारीमा काम गरेर गुजारा टार्दै आएका मुसहर समुदायका उनिहरु नचुहिने घरको सपना पूरा भएको बताईरहेका थिए ।

नयाँ घर नियाल्दै गरेकी सुनिता माझी पनि दंग थिईन् । ‘घरमा ६ जनाको परिवारलाई फुसको सानो घरमा बस्न समस्या थियो । पतिले खेतमा दैनिक ज्यालादारी गरेर कमाएको रकमले परिवारको गुजारा टर्दै आएको थियो । नयाँ घर बनाउन सहज थिएन । असहजताको बीचमै नयाँ घर प्राप्त गर्दा अत्यन्तै खुशी छु । सुनिताले भनिन् ।

छुट्टाछुटै घरमा बस्दै आएका एउटै समुदायका नागरिक अब व्यवस्थित बस्तीमा बस्न पाउने अवस्था निर्माण भएको जीतपुरसिमराका ६ का वडाध्यक्ष कैमुदिन अंसारीले बताए । विपन्न परिवारका लागि घर निर्माण गरिदिएर गुठीले समुदायमै उदाहरणीय काम गरेको अंसारीले बताएका छन् ।

उनका अनुसार गुठीले घर निर्माण गरिदिने चाहना राखेपछि वडा कार्यालय समेतको सक्रियतामा अति विपन्न परिवार पहिचान गरेको थियो । अति विपन्न परिवार पहिचान भएपछि गुठीले घर निर्माणको प्रक्रिया अघि बढाएर करिब पाँच महिनामै घर हस्तान्तरण गरेको हो ।

घर हस्तान्तरण कार्यक्रममा मधेस प्रदेशसभा सदस्य देवनारायण चौधरी, जीतपुरसिमरा उपमहानगरपालिकाकी पूर्व नगर उपप्रमुख सरस्वतीदेवी चौधरी, गुठीका सदस्य, स्थानीय सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्