सरुवापछि अलपत्र शिक्षकको न्यायका लागि तात्यो सामाजिक संजाल


eShilalekh

१३ आश्विन २०८०, शनिबार १४:१३

सिमराः शनिवार बिहानैदेखि सामाजिक संजाल फेसबकुमा शिक्षक ब्रम्हदेव पासवानको तस्वीर चर्चामा छ । सडक छेउमै बसेको पासवानको तस्विर पोष्ट गर्दै अधिकांशले उनको न्यायका लागि अपिल गरिरहेका छन् ।

चार दशकभन्दा बढी समयदेखि अध्यापन पेशामा आवद्ध शिक्षक पासवानलाई तत्काल न्याय दिलाउन जीतपुरसिमरा उपमहानगरपालिका र नगर प्रमुखलाई ध्यानाकर्षण गराउदै फेसबुकमा तस्वीर र सामाग्री पोष्ट भईरहेको छ । फेसबुकमा पोष्ट भएको उक्त सामाग्रीमा शिक्षक सरुवापछि पासवान पीडित भएको र तत्काल न्याय दिलाउनुपर्ने माग गरिएको छ ।

फेसबुकमा पोष्ट भएको सामाग्री अनुसार जीतपुरसिमरा उपमहानगरपालिकाले करिब एक महिना अघि गरेको शिक्षक सरुवामा पासवानलाई सिमराबाट जीतपुरसिमरा २४ हरपुरस्थित विद्यालय पठाइएको थियो । उपमहानगरपालिकाले गरेको सरुवा अनुसार पासवान श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय सिमराबाट रमाना बुझेर हरपुरस्थित विद्यालय पुगेका थिए । तर हरपुरस्थित विद्यालयमा हाजिर नगराइएपछि पासवान अपलत्र परेको व्यहोरा उल्लेख गरिएको छ ।

२०३९ सालदेखि शिक्षण पेशामा आवद्ध शिक्षक पासवान एक महिनादेखि अलपत्र परेको खबर सामाजिक संजालमा आएलगत्तै उनको न्यायका लागि आवाज उठ्न सुरु भएको हो । अवकाशका लागि दुई वर्ष बाँकी रहेका पासवानलाई चाडपर्वको समयमा हाजिरविहिन अवस्थामा राखिनु दुःखद् रहेको भन्दै उपमहानगरपालिकाको कार्यालयले तत्काल पहल थाल्नुपर्ने माग उठिरहेको छ ।

सामाजिक संजाल फेसबुक तातेपछि जीतपुरसिमरा २ का वडाध्यक्ष धनबहादुर श्रेष्ठले आफ्नो गम्भिर ध्यानाकर्षण भएको जनाएका छन् । सामाजिक संजालमार्फत उनले शिक्षक पासवानको विषयलाई लिएर सामाजिक संजालमा उठेका टिकाटिप्पणीप्रति आफ्नो ध्यानाकर्षण भएको भन्दै तत्काल न्यायका लागि पहलकदमी लिने बताएका छन् ।

जीतपुरसिमरा उपमहानगरपालिका नगर प्रमुख राजन पौडेलले समस्या देखिएका विद्यालय र शिक्षकको हकमा छलफल गरेर समाधानको उपाय खोजी गरिने बताएका छन् ।

यस्तो छ समाजिक संजालको सामाग्रीः

ब्रहमदेव पासवान,

एक शिक्षक जसले आफुले अध्ययन गरेको बिद्यालय बाराको सिमरामा रहेको श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा २०३९ साल देखी करिब ४१ बर्ष प्रावि शिक्षकको रूपमा काम गर्दै आईरहनुभएको छ , अबको २ बर्ष पछि उहाँ उमेरहदका कारण अवकाश हुनुहुनेछ ।

आफ्नो जिवनको ४१ वर्ष बिताएको र सेवा गरेको ठाउँबाट एकाएक उहाँलाई जीतपुरसिमरा उपमहानगरपालिकाले हरपुर सरूवा गर्यो, आर्थिक रूपले कमजोर, कुनै सवारी साधन नभएका, उहाका लागी हरपुर अपायक ठाउ थियो तर उपमहानगरले सरूवाको पत्र बिद्यालयमा पठाएपछि उहा कार्यरत बिद्यालयले उहा संग कुनै सोधखोज नगरी रमाना पत्र थमायो, आफुले ४१ बर्ष बिताएको ठाउ, अबको २ वर्ष बाकि जागिर जिवन, आर्थिक रूपले कमजोर रहेकाले उहा चुपचाप जहा सरूवा गरेको हो त्यही जानुभयो तर त्यहां उहाँलाई हाजिर गर्न दिईएन, उहाले यस बिषयमा उपमहानगरपालिकामा निबेदन पनि दिनुभयो तर कुनै सुनुवाइ भएको छैन, बिगत एक महिनादेखि उहाले हाजिर गर्ने ठाउँ पाउनु भएन, आफ्नो बिद्यालयले रमाना दियो,उहाका ठाउमा अर्कोलाई नियुक्त गरियो, जहा पठाएको त्यहा हाजिर गर्न नदिएपछि दशैको मुखमा तलब आउने नआउने कुनै ठेगान छैन, एक छोरा गुमाईसकेका उहा शारीरिक रूपमा केहि कमजोर हुनुहुन्छ, आज सम्म कुनै दल, न त कुनै नेता, न कुनै व्यक्ति कसैको झोला नबोकेका एक सिधासोझा शिक्षक जसले पढाएका धेरै बिद्यार्थी आज कोहि उच्च पदमा छन्, कोहि नेता भएका छन्,कोहि जनप्रतिनिधि भएका छन्,कोहि सोहि बिद्यालयमा सहकर्मी भएका छन्, कोहि सोहि बिद्यालयका व्यवस्थापन समितिमा छन् तर उहाको समस्याको समाधान गरिदिने मान्छे उहाले भेट्नुभएको छैन, उहाको समस्या समाधान पनि भएको छैन, आजभोली उहा कहिले उपमहानगर को कार्यालय त कहिले आफ्नो पिडामा बोलिदिने कोहि भेटिएलान् कि भनेर चोकचौतारा धाउदै हुनुहुन्छ, उहाका बारेमा सबै थाहा भएर पनि थाहा नभए झै गरेर बसेका छन् सम्बन्धित निकाय !!

ब्रहमदेव पासवान जस्ता शिक्षकले न्याय कहिले पाउने??

प्रतिक्रिया दिनुहोस्