घण्टीमाई सहकारीको साधारणसभाः सर्वसम्मत नेतृत्व चयनको प्रयास हुँदै


eShilalekh

१४ आश्विन २०८०, आईतवार २०:३५

सिमराः जीतपुरसिमरा उपमहानगरपालिका ४ स्थित घण्टीमाई बचत तथा ऋण सहकारी संस्थाको ११औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । राष्ट्रिय सहकारी महासंघका संचालक टेकप्रसाद चौलागाईंको प्रमुख आतिथ्यतामा साधारणसभाको उद्घाटन सत्र सम्पन्न भएको हो ।

अधिवेशनसहितको साधारणसभाको उद्घाटनसत्र सम्पन्न भएसंगै नयाँ नेतृत्व चयनको प्रक्रिया अघि बढेको छ । साधारणसभाको बन्दसत्रबाट सर्वसम्मत् नेतृत्व चयन गर्न खोजिएपनि केही पदमा दोहोरो आकांक्षी देखिएपछि सहमतीको प्रयास थालिएको छ।

बन्दसत्रमा अध्यक्ष, कोषाध्यक्ष र सहसचिव पदमा दोहोरो आकांक्षी देखिएका थिए । अध्यक्ष पदका लागि निवर्तमान अध्यक्ष कोपिला सिंखडा र ऋषीराज लुईटेलले आकांक्षा देखाएका छन् । यसैगरी कोषाध्यक्ष पदमा कमल पौडेल र जानुका भण्डारीले मनोनयन दर्ता गराएपछि सहमतीका लागि छलफल भईरहेको निर्वाचन मण्डलले जनाएको छ ।

केही पदमा दोहोरो आकांक्षी भएको र सर्वसम्मत् नेतृत्व चयन गर्न शेयरसदस्यको दवाव रहेका कारण निर्वाचन मण्डलले सहमतिको प्रयास गरिरहेको हो । शेयर सदस्यले निर्वाचनमा जान नहुने भन्दै सबै पदमा सर्वसम्मत् नेतृत्व चयन गर्न दवाव दिईरहेका छन् ।

आफ्नै भवन निर्माण गरेर सेवा प्रदान गर्दै आएको सहकारीमा एक हजार ६ सय भन्दा बढी शेयर सदस्य रहेका छन् । संस्थाले अघिल्लो आर्थिक वर्षमा १८ करोड भन्दा बढीको कारोवार गर्दै ६० लाख मुनाफा आर्जन गरेको छ । संस्थाले शेयर सदस्यलाई १५ प्रतिशत लाभांश वितरण गर्ने तयारी गरेको सूचना अधिकारी अस्मिता शर्माले जानकारी दिईन् ।

साधारण सभाको उद्घाटन सत्रमा संस्थाले विभिन्न व्यक्तिहरुलाई सम्मान गरेको छ । शिक्षातर्फ एसइइमा उत्कृष्ट अंक ल्याउने छात्र इशान खरेल, रुचीकुमारी रौनियार, जेष्ठ शेयर सदस्य लक्ष्मी पाठक, चिनबहादुर थापा, उत्कृष्ट ऋणी सन्तोष खत्री र अम्व्या सोखिन, उत्कृष्ट बाल बचतकर्ता त्रिशा शाह, माग बचतकर्ता विनोद सापकोटा र ईन्दिरा अधिकारी, नियमित पहिलो कारोवारकर्ता पदमप्रसाद भट्ट, नियमित बचतकर्ता सिकिन्द्री चौधरी, उत्कृष्ट कर्मचारी मेनुका हुमागाईंलगायतलाई सम्मान गरिएको थियो ।

सोही अवसरमा संचारकर्मी लक्ष्मी खरेल र रञ्जन यादवलाई समेत समानित गरिएको थियो । कार्यक्रममा मधेश प्रदेशसभा सदस्य देवनारायण चौधरी, पूर्व प्रदेशसभा सभा सुन्दर विश्वकर्मा, बारा जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष सत्यन्द्र ठाकुर, लघुवित्त तथा सहकारी विज्ञ प्रकाश पाण्डे, विदुर खड्का लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

संस्थाकी अध्यक्ष सिंखडाकी अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रमको सहजीकरण भवन खड्काले गरेका । उद्घाटन कार्यक्रममा संस्थाका उपाध्यक्ष थानेश्वर पाध्याले स्वागत मन्तब्य राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्