भारतीय युवक हत्या प्रकरणः मृतककै पत्नी पक्राउ, अन्य पाँच फरार


eShilalekh

१५ आश्विन २०८०, सोमबार ०१:५०

सिमराः बाराको पचरौतामा असोज ९ गते गोली प्रहार गरी एक भारतीय युवकको हत्या गरिएको घटनामा उनकै पत्नी संग्लन रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ । पचरौता नगरपालिका ६ स्थित लक्ष्मीनियामा मारिएका २५ वर्षीय अजितकुमार सिंहको हत्यामा उनकै पत्नी सोनम सहनी सिंहको संलग्नता रहेको देखिएको हो ।

बारा प्रहरीले सोनमलाई भारत भाग्न लाग्दा सिमा क्षेत्रबाट नियन्त्रणमा लिएको छ । उनलाई नियन्त्रणमा लिएर अनुसन्धान गर्ने क्रममा भारत मोतिहारी जिल्ला दार्पा थाना १ सुक्लहियाका सिंहको हत्या प्रकरणमा पत्नीसहित अन्य पाँच जनाको संलग्नता देखिएको बाराका प्रहरी उपरीक्षक सुरेश काफ्लेले जानकारी दिएका छन् ।

हत्या प्रकरणमा प्रहरीको पछिल्लो अनुसन्धान सार्वजनिक गर्न आयोजित आइतबार पत्रकार सम्मलेनमा प्रहरी उपरीक्षक काफ्लेले सिंह हत्या प्रकरणमा उनकै पत्नीलाई पक्राउ गरिएको र अन्य फरारको खोजी भईरहेको बताए । काफ्लेका अनुसार सिंहको हत्यामा उनकी पत्नी सोनमले सूचना आदनप्रदान र रेकीको भूमिकामा रहेकी थिईन् ।

सोनमकै सहयोगमा भारत मोतिहारी जिल्ला दार्पा थाना १ सुक्लहियाका सुजितकुमार सिंहले युवकको हत्या गरेका थिए । सोनम र गोली प्रहार गर्ने सिंहबीच अनैतिक सम्बन्ध रहेको समेत अनुसन्धानमा देखिएको प्रहरी उपरीक्षक काफ्लेले बताए ।

प्रहरीका अनुसार घटनाको दिन अजित र सुजित दुबैजना भारतबाट एउटै मोटरसाइकलमा नेपाल प्रवेश गरेका थिए । सिम्रौनगढमा डेरा गरी बस्ने पत्नी सोनमलाई भेट्न आएका अजितलाई आफूसंगै आएका सुजितले गोली प्रहार गरी फरार भएको प्रहरी अनुसन्धानमा देखिएको प्रहरी उपरीक्षक काफ्लेले जानकारी दिए ।

घटनामा सुजितसंगै मोटरसाइकलमा स्कर्टिङको काम गर्ने २४ वर्षीय चञ्चल पाण्डे, २२ वषीय मनिषकुमार सहनी, २० वर्षीय कामेश्वर सहनी र घटना व्यवस्थापनको काम गर्ने रञ्जित मुखियाको संलग्नता रहेको प्रहरीको भनाई छ । घटनामा संलग्न रहेकामध्ये अजितकी पत्नी सोनमबाहेक अन्य सबै फरार छन् । उनिहरु भारतमा रहेको प्रहरीको भनाई छ ।

प्रहरीका अनुसार मारिएका अजित र गोली प्रहार गर्ने सुजित अपराधिक गतिविधिमा संलग्न रहदै आएका थिए । उनिहरु दुवै जना हत्या र लुटपाट जस्ता घटनामा संलग्न रहेको अनुसन्धानबाट खुलेको प्रहरी उपरीक्षक काफ्लेले बताएका छन् ।

गत पुस ९ गते बाराको महागढीमाई २ भुतही पुलमा भारत मोतिहारी जिल्ला दार्पा थाना १४ का ४४ वर्षीय शिवपुजन यादवलाई सुजितले गोली प्रहार हत्या गरेको समेत खुल्न आएको जानकारी दिइएको छ । शिवपुजनसंगै मोटरसाइकलमा आएका सुजित गोली प्रहार गरी फरार भएका थिए । उक्त घटना प्रकरणमा प्रहरीले भारत घोडासनका प्रमोद रामलाई यसअघिनै पक्राउ गरिसकेको छ ।

यसैगरी अजित र सुजितको समूहले सन् २०२२ मा भारत मोतिहारी जिल्ला दार्पा थाना १४ उपप्रमुखको हत्या गरेको समेत अनुसन्धानमा देखिएको प्रहरी उपरीक्षक काफ्लेले जानकारी दिएका छन् । अपराधिक गतिविधिमा सक्रिय उनिहरुबीच पछिल्लो समय सुन लुटपाट गरेर आएको रकम लेनदेनको विषयमा विवाद रहदै आएको थियो । उनिहरुले तीन वर्षअघि भारतको घोडासनमा सुन लुटेका थिए । लुटिएको सुनबाट अजितले आठ लाख लिने सहमति भएको र सबै मिलेर भारतको छौडादानोमा जग्गा प्लटिङमा उक्त रकम लगाएका थिए । सोही जग्गाको विषयमा विवाद बढेपछि सुजितले घटनाको योजना बनाएको प्रहरीको भनाई छ ।

घटनाको विषयमा थप अनुसन्धान भईरहेको प्रहरी उपरीक्षक काफ्लेले बताएका छन् । उनले घटनामा संलग्न अन्यलाई छिट्टै पक्राउ गरिने समेत बताए ।

प्रतिक्रिया दिनुहोस्