हातेमालो सहकारीको १६औं वार्षिक साधारणसभा सम्पन्न


eShilalekh

२१ आश्विन २०८०, आईतवार २०:३६

सिमराः देशकै उत्कष्ट सहकारीको सूचिमा पर्ने हातेमालो बचत तथा ऋण सहकारी संस्थाको १६औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । सिमरास्थित थानीमाई वन समितिको सभाहलमा संस्थाको साधारणसभा सम्पन्न भएको हो ।

साधारणसभाको उद्घाटन पूर्वमन्त्री एवम् बारा क्षेत्र नं. ४ का सांसद किसान श्रेष्ठले गरेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै सांसद श्रेष्ठले सहकारी क्षेत्रले भोगिरहेको कानुनी जलिटतामा सहजीकरण गर्न आफूले भूमिका खेल्ने बताए ।

हातेमालो सहकारीले देशमै उत्कृष्ट सहकारीको रुपमा परिचय बनाउन सफल भएको भन्दै श्रेष्ठले सहकारी क्षेत्र सदस्यप्रति जिम्मेवार भएर काम गर्न सके सफल हुने बताए ।

कार्यक्रममा मधेस प्रदेशसभा सदस्य देवनारायण चौधरी, पूर्वप्रदेशसभा सदस्य सुन्दर विक, सीता गुरुङ, जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख राजन पौडेल, पूर्व नगर प्रमुख एवम् संस्थाका संस्थापक अध्यक्ष डा. कृष्ण पौडेल, नगर उपप्रमुख भोलाप्रसाद अधिकारी, नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघका संचालक हरेराम पटेल, जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघका अध्यक्ष मोहन शर्मालगायतले सम्बोधन गरेका थिए ।

संस्थाका अध्यक्ष यज्ञबहादुर आलेको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सहजीकरण सचिव दीपक भट्टले गरेका थिए । कार्यक्रममा बरिष्ठ उपाध्यक्ष सञ्जय साहले स्वागत मन्तब्य राखेका थिए ।

१६ वर्षअघि स्थापना भएको संस्थाले हाल चार हजार सदस्यका बीच ६६ करोडको कारोबार गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्