वडाध्यक्ष कप फूटबल: मौवादेवी सेमिफाइनलमा प्रवेश


eShilalekh

२४ आश्विन २०८०, बुधबार ०६:४४

सिमराः फ्रेण्ड्स युवा क्लब बकुलियालाई टाईब्रेकरमा पराजित गर्दै मौवादेवी युवा क्लब बडहर्वा जीतपुरसिमरा १६ मा जारी प्रथम वडाध्यक्ष कप फूटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । डकाहा खेल मैदानमा मंगलबार भएको खेलमा बकुलियालाई ४-२ ले पराजित गर्दै बडहर्वा अन्तिम चारमा प्रवेश गरेको हो ।

निर्धारित समयमा दुवै टिमले १-१ को बराबरी खेलेपछि नतिजा टाईब्रेकरबाट निकालिएको हो । खेलमा बकुलियाविरुद्ध लिएको अग्रता जोगाउन नसक्दा बडहर्वाले जितका लागि टाइब्रेकरसम्म संघर्ष गर्नुपर्यो । खेलको पहिलो हाफमा अभिनाश महतोले गोल गर्दै बहडर्वालाई अग्रता दिलाएका थिए । बकुलियाले बडहर्वाविरुद्धको अग्रतालाई दोस्रो हाफमा बराबरी गरेको थियो ।

टाईब्रेकरमा बडहर्वाको जितमा उत्कृष्ट खेल पस्किएका गोलरक्षक युनेश चौधरी म्यान अफ दि म्याच घोषित भए । चौधरीलाई प्रतियोगिता संयोजक मोहनबहादुर आलेले म्यान अफ दि म्याचको ट्रफि प्रदान गरेका थिए ।

प्रतियोगिता अन्तर्गत बुधवार ओझेल युवा क्लब टांगियाबस्ती र वीरगन्ज सिटी क्लबबीच खेल हुनेछ । जतिपुरसिमरा उपमहानगरपालिका वडा नं. १६ को कार्यालयको सहयोगमा मित्र युवा क्लबले आयोजना गरेको प्रतियोगिताको विजेताले ५० हजार र उपविजेताले २५ हजार नगद प्राप्त गर्नेछन् । प्रतियोगितामा १२ वटा टिमको सहभागिता रहेको छ ।

तस्वीरः एवान समाचार

यसअघि प्रकाशित समाचारमा त्रुटि भएकाले सच्याइएको छ ।

प्रतिक्रिया दिनुहोस्