जीतपुरसिमरा १६ का पूर्व वडाध्यक्ष बजगाईंसहित माओवादीका नेताकार्यकर्ता एमाले प्रवेश


eShilalekh

२४ आश्विन २०८०, बुधबार १९:३३

सिमराः जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. १६ का पूर्व वडाध्यक्ष केदारनाथ बजगाईंसहित नेकपा माओवादी केन्द्रका नगर र वडाका नेताकार्यकर्ता नेकपा एमालेमा प्रवेश गरेका छन् । जनकपुरमा आयोजित एमालेको मधेस प्रदेश कमिटीको प्रथम अधिवेशनको उद्घाटन कार्यक्रममा उनिहरु एमाले प्रवेश गरेका हुन् ।

एमाले प्रवेश गरेका माओवादी केन्द्रका पूर्व जिल्ला कमिटी सदस्य बजगाईंसहित नेताकार्यकर्तालाई एमाले अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललगायतले स्वागत गरेका थिए । एमाले प्रवेश गर्नेमा नगर कमिटी सदस्य नगर कमिटी सदस्य दुर्गाप्रसाद शिवाकोटी, बृजकिशोर महतो, वडा कमिटी उपाध्यक्ष नमराज श्रेष्ठ, वडाका सचिवालय सदस्य श्यामसुन्दर उप्रेतीलगायत रहेका छन् ।

बजगाईं २०७४ सालको स्थानीय तह निर्वाचनमा माओवादी केन्द्रबाट जीतपुरसिमरा १६ मा निर्वाचित भएका थिए भने गत बैशाख ३० गते सम्पन्न निर्वाचनमा एमालेका हरिदेव खरेलसंग दुई मतले पराजित भएका थिए ।

स्थानीय तह निर्वाचनपछि बजगाईंले माओवादी केन्द्र परित्याग गरेको घोषणा गरेका थिए । माओवादी केन्द्र परित्याग गरेसंगै उनि एमाले प्रवेश गर्ने चर्चा चलिरहेको थियो ।

प्रतिक्रिया दिनुहोस्