जीतपुरसिमरा उपमहानगरलाई सूर्य नेपालले दियो वारुणयन्त्र

सिमराः बाराको सिमरास्थित सूर्य नेपाल प्रालिले बुधबार जीतपुरसिमरा उपमहानगरपालिकाको कार्यालयलाई वारुणयन्त्र (दमकल) हस्तान्तरण गरेको छ । कारखानाका व्यवस्थापक सुरेश काजी श्रेष्ठले नगर प्रमुख राजन पौडेललाई दमकलको साँचो हस्तान्तरण गरेका हुन् ।
आगलागीबाट हुन सक्ने सम्भावित जोखिम नियन्त्रणमा सहयोग पुगोस् भन्ने हेतुले दमकल उपलब्ध गराइएको व्यवस्थापक श्रेष्ठले बताए । समाजप्रति कारखाना निकै उत्तरदायी रहेको बताउँदै श्रेष्ठले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत शिक्षा, स्वास्थ्य र कलाको क्षेत्रमा काम गर्न तयार रहेको बताए । उनले यसअघि पनि उपमहानगरपालिकाको कार्यालय र अन्य निकायलाई सहयोग गर्दै आएको जानकारी दिए ।
सूर्य नेपालले २०७९ सालमा जीतपुरमा बर्थिङ सेन्टर निर्माण गरेर उपमहानगरपालिकालाई हस्तान्तरण गरेको थियो । त्यससँगै जीतपुरसिमरा नगर अस्पताललाई डायलसिस मेसिन हस्तान्तरण गरेको थियो । संचालनको तयारीमा रहेको नगर अस्पताललाई अब सिआर मेसिन र एनेस्थेसिया टेबल हस्तान्तरण गर्ने तयारी भईरहेको श्रेष्ठले बताए । उनले अस्पतालमा अत्यधुनिक शल्यक्रिया कक्षको समेत आवश्यकता देखिएकाले त्यसका लागि पनि काम भईरहेको जानकारी दिए ।

‘अस्पताल पूर्णरुपमा व्यवस्थित बनाई संचालनमा ल्याउनका लागि आवश्यक सामग्री हस्तान्तरण गर्न हामी तयार छौं र गरिरहेका पनि छौं’ श्रेष्ठले भने ‘आम सर्वसाधारणलाई सहजरुपमा स्वास्थ्य सेवा पाउन सहयोग पुगोस् भन्ने हाम्रो मान्यता हो ।’
कारखानाले उपमहानगरपालिका मात्र नभई विभिन्न कार्यालय, विद्यालयमा समेत सहयोग गर्दै आएको छ । जेन्जी प्रदर्शनका क्रममा जलाइएको इलाका प्रशासन कार्यालय सिमरालाई गत वर्ष कम्प्युटर, प्रिन्टर प्रदान गरेको कारखानाले विभिन्न विद्यालयलाई नमूना स्मार्ट बोर्ड तथा स्मार्ट डिजिटल बोर्ड उलपब्ध गराउँदै आएको छ ।
कार्यक्रममा दमकलको साँचो बुझ्दै नगर प्रमुख पौडेलले कारखानाप्रति धन्यवाद व्यक्त गरेका छन् । कारखानाले उपमहानगरको शिक्षा र स्वास्थ्य क्षेत्रको विकासमा पुर्याएको योगदानको प्रशंसा गर्दै नगर अस्पताललाई व्यवस्थित र प्रविधियुक्त बनाउन ठूलो सहयोग पुर्याएको बताए ।
दमकल हस्तान्तरण कार्यक्रममा उपमहानगरपालिकाका उपप्रमुख भोलाप्रसाद अधिकारी, उपमहानगरका उपसचिवहरु शिवजी प्रसाद, उमेश वाग्ले, हरिशंकर प्रसाद कुर्मी, अभयकान्त झा, वडा नं. ३ की कार्यबाहक वडाध्यक्ष माया विक, इन्जिनियर पुष्पा सिंह, कर्मचारी उमाकान्त पौडेल, कपिल सुवेदीलगायत सहभागी थिए । त्यसैगरी सूर्य नेपालका तर्फबाट उमेश थापा, सरविन श्रेष्ठ, यज्ञबहादुर आलेलगायतका कर्मचारीहरूको पनि सहभागिता रहेको थियो ।






