वीरगन्ज गोल्डकपः पाहुना टोलीमाथि पुलिसको फराकिलो जीत


eShilalekh

२० कार्तिक २०८०, सोमबार २१:३४

सिमराः पाहुना टोली क्लाईभ हाउस दम दम फूटबल क्लब कोलकातालाई फराकिलो गोलअन्तरले पराजित गर्दै विभागिय टिम नेपाल पुलिस क्लब प्रथम वीरगन्ज गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

आदर्शनगर रंगशालामा सोमबार भएको तेस्रो क्वाटरफाइनल खेलमा कोलकातालाई ७-१ ले पन्छाउदै पुलिसले अन्तिम चारको यात्रा तय गरेको हो । पुलिसको जितमा प्रताप गुरुङ एक्लैले पाँच गोल गरे भने प्रविण थापा र विवेक सन्तोषीले समान एक/एक गोल गरेका छन् । कोलकाताका लागि अमन मुन्सीले एक गोल फर्काए ।

निर्धारित खेलको पहिलो हाफमा पाँच गोल गरेको पुलिसले दोस्रो हाफमा थप दुई गोल थप्दै सहज जीत हात हात पारेको हो । खेलमा पाँच गोल गरेका प्रताप म्यान अफ दि म्याच घोषित भए । उनले १० हजार नगद हात पारे । गुरुङलाई प्रतियोगिता आयोजक भेट्रान्स सिटी क्लबका उपाध्यक्ष सागर शमशेर राणाले पुरस्कार वितरण गरेका थिए ।

पुलिसले अब फाइनल प्रवेशका लागि बुधवार आयोजकसंग प्रतिस्पर्धा गर्नेछ । भारतको एफसीआई नर्थ जोन नोयडा फूटबल क्लबलाई टाइब्रेकरमा ३-१ ले स्तब्ध पार्दै आयोजकले अन्तिम चारमा स्थान सुरक्षित गरिसकेको छ ।

प्रतियोगिता अन्तर्गत मंगलबार अर्को विभागिय टिम त्रिभुवन आर्मी क्लब र झापा फूटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ । कार्तिक २५ गतेसम्म संचालन हुने प्रतियोगिताको विजेताले ११ लाख ११ हजार एक सय ११ र उपविजेताले पाँच लाख ५५ हजार पाँच सय ५५ प्राप्त गर्नेछन् । यो राशी मधेस प्रदेशमा आयोजना हुने फूटबल प्रतियोगिता मध्येको उच्च हो ।

मधेस प्रदेशमा आयोजना हुने अन्य ठुला प्रतियोगितामध्ये १३औं संस्करण सम्पन्न भईसकेको जीतपुरसिमरा गोल्डकप र सातौं संस्करण सम्पन्न भएको राजर्षि जनक कपको पुरस्कार राशी समान छ । उक्त दुई प्रतियोगिताको पछिल्लो संस्करणको विजेताले १० लाख र उपविजेताले पाँच लाख प्राप्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्