सिमरा विमानस्थलमा हवाई इन्धन डिपो राख्न सम्झौता


eShilalekh

२३ कार्तिक २०८०, बिहीबार ११:०६

सिमरा: काठमाडौंबाट छोटो दुरीमा रहेको सिमरा विमानस्थलमा हवाई इन्धन डिपो राख्न सम्झौता भएको छ । नेपाल आयल निगमको सिनामंगलस्थित हवाई इन्धन कार्यालयका प्रमुख प्रदीपकुमार यादव र सिमरा विमानस्थल कार्यालयका प्रमुख सूर्यबहादुर खत्रीले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

सम्झौतासंगै अब सिमरा विमानस्थलमा अवतरण गर्ने जहाजले इन्धन भर्न सक्नेछन् । इन्धन भर्ने सुविधा छठ लगतै सुरु गर्ने गरि सम्झौता भएको हवाई इन्धन कार्यालयका प्रमुख यादवले इशिलालेखलाई जानकारी दिए ।

सम्झौताअनुसार डिपो स्थापना गर्नका लागि नागरिक उड्डयन प्राधिकरण सिमराले पाँच कठ्ठा जमिन उपलब्ध गराउनेछ । सोही जमिनमा हवाई डिपो स्थापना गरिनेछ ।

देशकै पुरानो विमानस्थलमध्येको एक सिमरा विमानस्थलमा हवाई इन्धन भर्ने डिपो स्थापनाका लागि माग हुँदै आएको थियो । इन्धन भर्ने सुविधा नहुँदा मौसम र `एयर ट्राफिक´का कारण काठमाडौंमा अवतरण गर्न नसकेका जहाज भैरहवा र विराटनगर डाइभर्ट हुँदै आएका थिए ।

काठमाडौंबाट छोटो दुरीमा भएपनी सिमरामा डिपो नहुँदा जहाज अन्यत्र पठाइने गरिएको थियो । आन्तरिक हवाई सेवा प्रदायक संस्थाले पनि सिमरामा इन्धन भर्ने सुविधा उपलब्ध गराउन माग गर्दै आएका थिए ।

प्रतिक्रिया दिनुहोस्