जगदम्बा स्टील्समा ट्रकले किचेर मृत्यु भएका कार्कीको परिवारलाई १६ लाख दिने सहमती


eShilalekh

२३ कार्तिक २०८०, बिहीबार १८:५४

सिमराः जगदम्बा स्टील्स् उद्योग परिसरमा लहरी ट्रकले किचेर मृत्यु भएका जीतपुरसिमरा २ का उज्वल कार्कीको परिवारलाई क्षतिपूर्तिवापत १६ लाख रकम उपलब्ध गराउने सहमती भएको छ । ईलाका प्रहरी कार्यालय सिमरामा विहिबार भएको छलफलमा उद्योग प्रशासनले पीडित परिवारलाई उक्त रकम उपलब्ध गराउने सहमती भएको हो ।

ठेकेदारमार्फत उद्योगभित्र ज्यालादारीमा सरसफाईको काम गर्दै आएका करिब २२ वर्षीय कार्कीको प्र.–०२०–३००–१ख ५९६ नम्बरको लहरी ट्रकले किच्दा बुधवार दिउँसो घटनास्थलमै मृत्यु भएको थियो । सरसफाईको काम गरेर अर्का एक व्यक्तिसंग शितलमा आराम गरिरहेका बेला कार्कीलाई ट्रक किचेको थियो । सामाजिक संजालमा सार्वजनिक भएको दुर्घटनाको भिडियोमा चालकको लापरवाही प्रष्ट देखिन्छ ।

चालकको लापरवाहीका कारण कार्कीको मृत्यु हुन पुगेपछि पीडित परिवार र स्थानीय आक्रोशित बनेका थिए । घटनालगत्तै उद्योग प्रशासनले मृतकको शव वीरगन्ज पठाएको थियो । परिवारलाई जानकारी नै नदिई मृतकको शव वीरगन्ज पठाएको भन्दै स्थानीयले बुधवार राती उद्योग अगाडी प्रदर्शन गरेपछि विहिबार छलफल गर्ने सहमती भएको थियो । सोही अनुसार भएको छलफलमा कार्कीको परिवारलाई क्षतिपूर्तिवापत १६ लाख उलपब्ध गराउने सहमती भएको ईलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले इशिलालेखलाई जानकारी दिए ।

सहमतीपछि पीडित परिवार कार्कीको शव बुझ्न तयार भएका छन् । मृतक कार्कीको श्रीमती र एक छोरी छन् । घटनालगत्तै प्रहरीले ट्रकसहित चालक र सहचालकलाई नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्