पुलिसले उचाल्यो वीरगन्ज गोल्डकपको उपाधी


eShilalekh

२५ कार्तिक २०८०, शनिबार १७:१५

वीरगन्ज: त्रिभुवन आर्मी क्लबलाई स्तब्ध पार्दै नेपाल पुलिस क्लबले प्रथम वीरगन्ज गोल्डकपको उपाधी उचालेको छ । आदर्शनगर रंगशालामा शनिबार भएको फाइनल खेलमा आर्मीलाई टाइब्रेकरमा २-० ले पराजित गर्दै पुलिसले उपाधी उचालेको हो ।

प्रतिस्पर्धात्मक विभागीय फाइनल भिडन्तको निर्धारित समयमा दुबै टिमले गोलरहित बराबरी खेलेपछी नतिजा टाइब्रेकरबाट निकालिएको हो । टाइब्रेकरमा आर्मीका चार खेलाडीको प्रहार फितलो बन्न पुग्दा पुलिसले सिजनकै पहिलो उपाधी उचाल्न सफल भएको हो ।

टाइब्रेकरमा पुलिसका लागि रामचन्द्र वाजी र बुद्ध तामाङले गोल गर्दा हुचोल राईको प्रहार आर्मीका गोलरक्षक विकेश कुथुले बचाउ गरे । यता आर्मीका कप्तान नवयुग श्रेष्ठ, बिमल पाण्डे, सन्तोष केसी र जितेन्द्र कार्कीको प्रहारले जाली चुम्न सकेन ।

कप्तान श्रेष्ठको प्रहार पोस्ट नजिकैबाट बाहिरिन पुग्दा कार्कीको प्रहार पोस्टमा ठोक्किन पुगेको थियो । यसैगरी पाण्डे र केसीको प्रहारलाई बिफल तुल्याउदै पुलिसका गोलरक्षक शत्रुधन चौधरीले टिमलाई उपाधी दिलाए ।

उपाधी विजेता पुलिसले नगद ११ लाख ११ हजार एक सय ११ र उपविजेता आर्मीले पाँच लाख ५५ हजार पाँच सय ५५ प्राप्त गरेको छ । यो राशि मधेस प्रदेशमा आयोजना हुने प्रतियोगितामध्येको उच्च हो ।

वीरगन्ज महानगरपालिकाको मुख्य सहयोग र भेट्रान्स सिटि क्लब वीरगन्जको आयोजनामा कार्तिक १८ गतेदेखी सुरु भएको प्रतियोगितामा नेपाल र भारतका आठ टिमको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्